काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि यसको प्रभाव नेपालको सीमाभित्र मात्र सीमित रहेन । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पु¥याएको क्षति, ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता, जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धार र भौतिक पूर्वाधारमा भएको विनाशलाई विश्वका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरिरहेका छन् ।
घटना भएको केही दिनसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य ध्यान मृत्यु, बेपत्ता तथा उद्धारमा केन्द्रित देखिए पनि पछिल्ला रिपोर्टहरूमा यसको दायरा फराकिलो हुँदै गएको छ । अहिले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय मिडियाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, हिमनदीको अस्थिरता, पूर्वसूचना प्रणालीको कमजोरी र विपद् व्यवस्थापनको चुनौतीसँग जोडेर विश्लेषण गर्न थालेका छन् ।
अमेरिकी समाचार संस्था रोयटर्सले नेपालको बाढीसम्बन्धी पछिल्लो रिपोर्टमा उद्धार कार्यसँगै भविष्यमा यस्ता विपत्तिबाट कसरी जोगिने भन्ने विषयलाई प्राथमिकता दिएको छ । रोयटर्सका अनुसार नेपालले चीनसँगको सीमाक्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारी गरिरहेको छ ।
रसुवाको टिमुरे क्षेत्रमा स्थापना गरिएको पुरानो पूर्वसूचना प्रणाली बाढीका कारण नष्ट भएपछि नयाँ प्रणाली निर्माणको तयारी भइरहेको रोयटर्सले जनाएको छ । प्रस्तावित प्रणालीमा भूकम्पीय सेन्सर, क्यामेरा र मोबाइल नेटवर्क अवरुद्ध भएको अवस्थामा समेत सूचना सम्प्रेषण गर्न सक्ने भीएसएटी स्याटेलाइट लिंक राखिने तयारी छ ।
रोयटर्सको यो कभरेजले नेपालको बाढीसम्बन्धी अन्तर्राष्ट्रिय समाचारको प्राथमिकता विस्तार भएको संकेत गर्छ । घटना भएको तत्कालीन समयमा मृत्यु र उद्धार मुख्य विषय भए पनि अहिले प्रश्न ‘यस्तो विपत्ति फेरि आयो भने त्यसअघि नै मानिसलाई कसरी सचेत गराउने ?’ भन्नेतर्फ केन्द्रित भएको छ ।
रोयटर्सले अर्को रिपोर्टमा विपत्तिको एक सातापछि पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी जारी रहेको र उद्धारकर्ताहरू कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गरेको छ । समय बित्दै जाँदा जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गए पनि खोज तथा उद्धार अभियानलाई अन्तिम आशाका रूपमा निरन्तरता दिइएको रिपोर्टमा उल्लेख छ ।
बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल-तिब्बत सीमामा रहेको दुर्गम व्यापारिक नाका र त्यस वरपरको विनाशलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेको छ । बाढीले सडक, पुल, बस्ती तथा व्यापारिक पूर्वाधारमा पु¥याएको क्षतिसँगै ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थालाई बीबीसीले घटनाको गम्भीर पक्षका रूपमा उठाएको छ । पछिल्लो रिपोर्टिङमा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी अभियान जारी रहेको उल्लेख छ ।
बीबीसीको भिडियो सामग्रीले घटनाको दृश्य प्रभाव र जमिनमा देखिएको विनाशलाई प्राथमिकता दिएको छ भने उसका समाचार सामग्रीले विपद्को मानवीय र भौगोलिक पाटोलाई थप व्यापक सन्दर्भमा राखेको देखिन्छ । यसले नेपालमा भएको घटनालाई एउटा स्थानीय विपद् मात्र नभई हिमाली क्षेत्रमा बढ्दो जोखिमको उदाहरणका रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ ।
यस्तै, बेलायती सञ्चारमाध्यम गार्जियनले नेपालको बाढीलाई मुख्यतः मानवीय त्रासदीको कोणबाट प्रस्तुत गरेको छ । उसका रिपोर्टहरूमा मृत्यु तथा बेपत्ताको संख्या मात्र होइन, बाढीबाट घरबार गुमाएका परिवार, आफन्तको खोजीमा रहेका मानिस र ध्वस्त भएका बस्तीको अवस्थालाई समाचारको केन्द्रमा राखिएको छ ।
गार्जिएनको स्थलगत रिपोर्टिङमा बाढीले सडक, पुल, घर तथा अन्य पूर्वाधार बगाएपछि प्रभावित क्षेत्रका मानिसको दैनिकी कसरी अस्तव्यस्त भएको छ भन्ने चित्रण गरिएको छ । कतिपय स्थानमा उद्धार तथा राहत सामग्री पु¥याउनसमेत कठिन भएको रिपोर्टमा उल्लेख छ ।
गार्जिएनले रसुवाको जलविद्युत् आयोजनाहरुमा फसेका कामदारको खोजीलाई पनि प्रमुखताका साथ उठाएको छ । सुरुङभित्र रहेका मानिससम्म पुग्न उद्धार टोलीले गरिरहेको प्रयासलाई उसले मानवीय आशा र निराशाबीचको संघर्षका रूपमा प्रस्तुत गरेको छ ।
यसअघि प्रकाशित गार्जियनको अर्को स्थलगत सामग्रीले बाढीमा घर र आफन्त गुमाएका मानिसको व्यक्तिगत प्रोफाइल समेटेको थियो । त्यसमा बाढीबाट बचेका मानिसहरूको पीडालाई प्रत्यक्ष अनुभव र स्थानीयका भनाइमार्फत प्रस्तुत गरिएको छ । यसले ठूलो प्राकृतिक विपत्तिलाई अन्तर्राष्ट्रिय पाठकसम्म पु¥याउन व्यक्तिगत पीडा र मानवीय कथालाई शक्तिशाली पत्रकारिताको माध्यम बनाएको देखिन्छ ।

कतारस्थित अल्जजिराले नेपालको बाढीलाई निरन्तर फलोअप गरिरहेको छ । यसको रिपोर्टिङमा पनि मृत्युको तथ्यांकसँगै प्रभावित परिवारका व्यक्तिगत कथाहरु प्राथमिकतामा छन् ।
अल्जजिराले आफ्नो एक रिपोर्टमा बेपत्ता छोराको खोजीमा बाबुले दिनौंसम्म यात्रा गरेको कथा प्रस्तुत गरेको छ । छोराको अवस्था पत्ता लगाउन पैसा सापटी लिएरसमेत प्रभावित क्षेत्रमा पुगेका बाबुको कथामार्फत उसले बाढीको वास्तविक मानवीय मूल्य देखाउने प्रयास गरेको छ ।
यो रिपोर्टिङ शैलीले विपत्तिको आकारलाई फरक ढंगले प्रस्तुत गर्छ । हजारौं मानिस बेपत्ता भएको तथ्यांक आफैंमा ठूलो समाचार हो, तर एउटा परिवारले आफ्नो सदस्यको खोजीमा भोगेको पीडालाई केन्द्रमा राख्दा अन्तर्राष्ट्रिय पाठकका लागि त्यो संकट अझ जीवन्त बन्न पुग्छ ।
अल्जजिराले बाढीपछि घर फर्किएका मानिसहरूको अवस्थालाई पनि भिडियो रिपोर्टमार्फत देखाएको छ । हिलो र भग्नावशेषले भरिएका घरभित्र मानिसहरू बाँकी रहेका सामान खोजिरहेको दृश्यलाई उसले समाचारको विषय बनाएको छ ।
जर्मनीको सञ्चार माध्यम डीडब्लूले नेपालको बाढीलाई अझ फराकिलो जलवायु परिवर्तनको सन्दर्भमा प्रस्तुत गरेको छ । डीडब्लूको रिपोर्टिङमा मुख्य प्रश्न तत्कालीन बाढीको क्षतिभन्दा पनि हिमनदी पग्लिँदै जाँदा हिमाली समुदायलाई कसरी सुरक्षित राख्ने ? भन्नेमा केन्द्रीत छ ।
तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदी अस्थिर बन्ने र त्यसबाट अचानक ठूलो मात्रामा पानी, बरफ, माटो तथा चट्टान बग्ने जोखिम बढिरहेको विषयलाई यसले उठाएको छ । यस्तो अवस्थामा नेपालजस्ता हिमाली मुलुकमा परम्परागत बाढी पूर्वानुमान प्रणाली मात्र पर्याप्त नहुन सक्ने संकेत रिपोर्टले गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले पनि नेपालको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर रिपोर्टहरु सम्प्रेषण गरिरहेको छ । यसको रिपोर्टको केन्द्रमा नै जलवायु परिवर्तनका कारण हिमनदीसँग सम्बन्धित विपत्तिको जोखिम बढिरहेको चिन्ता राखिएको छ ।
रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै हिमाली क्षेत्रमा हिमनदी तथा पहाडी भूभाग अस्थिर बन्दै जाँदा पहिरो, आकस्मिक बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ ।
एबीसी न्युजले नेपालको बाढीलाई केवल नेपालको आन्तरिक समस्या मानेको छैन । हिमालय क्षेत्रमा देखिएको यो जोखिम भविष्यमा विश्वका अन्य हिमाली समुदायका लागि समेत चेतावनी हुन सक्ने सन्देश उसको रिपोर्टिङमा देखिन्छ ।

दी न्यू ह्युम्यानिट्रेनले नेपालको बाढीके घटनालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेको छ । उसको विश्लेषणको शीर्षक नै दि हिमालयन डिजास्टर नेपाल कुड नट सी कमिङ अर्थात् ‘नेपालले आउँदै गरेको देख्न नसकेको हिमाली विपत्ति’ भन्ने छ । रिपोर्टले अचानक आएको बाढीले स्थानीय समुदायलाई प्रतिक्रिया जनाउने पर्याप्त समय नदिएको अवस्थालाई जोड दिएको छ ।
यो रिपोर्टिङको महत्वपूर्ण पक्ष विपत्ति आफैंभन्दा विपद् आउनुअघि राज्य र समुदाय कति तयार थिए ? भन्ने प्रश्न हो । विशेषगरी दुर्गम हिमाली क्षेत्रमा पूर्वसूचना, सञ्चार संयन्त्र, उद्धार पहुँच र जोखिमबारे स्थानीय समुदायलाई जानकारी दिने प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न यसले उठाएको छ ।
अन्तर्राष्ट्रिय मिडियाको पछिल्लो कभरेजलाई क्रमिक रूपमा हेर्दा एउटा स्पष्ट परिवर्तन देखिन्छ । बाढी आएको सुरुवाती समयमा समाचारको केन्द्रमा मृत्यु, बेपत्ता, उद्धार र तत्कालीन क्षति थिए । तर, समय बित्दै जाँदा रिपोर्टिङको विषयवस्तु परिवर्तन भएको छ ।
जलविद्युत् सुरुङमा फसेका कामदार, परिवारका सदस्यको खोजी, ध्वस्त पूर्वाधार, विदेशी नागरिकको अवस्था र राहतसँगै अहिले पूर्वसूचना प्रणाली, हिमनदीको अस्थिरता, जलवायु परिवर्तन र दीर्घकालीन जोखिमले बढी स्थान पाउन थालेका छन् ।
यसले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एउटा स्थानीय विपत्तिका रूपमा मात्र नभई हिमालयमा विकसित भइरहेको सम्भावित दीर्घकालीन संकटको उदाहरणका रूपमा हेर्न थालेको देखाउँछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको कभरेज तुलना गर्दा एउटै घटनालाई उनीहरूले फरक पत्रकारिताको ‘फ्रेम’बाट प्रस्तुत गरेको देखिन्छ । रोयटर्सले उद्धार र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको छ भने गार्जियनले मानवीय पीडा र प्रभावित परिवारको कथालाई पस्केको छ । अल्जजिराले व्यक्तिगत कथा र बेपत्ता आफन्तको खोजीलाई केन्द्रमा राखेको छ ।
त्यसैगरी एबीसी न्युजले जलवायु परिवर्तन तथा हिमनदीसँग जोडिएको जोखिमलाई मुख्य विषय बनाएको छ भने दि न्यू ह्युम्यानिटारियनले विपद् पूर्वतयारी र मानवीय संकटको संरचनात्मक पक्षमाथि प्रश्न उठाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उठाएका प्रश्न नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छन् । जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि हिमाली भूगोलका कारण जलवायुजन्य जोखिमको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जोखिमयुक्त बस्तीको पहिचान, नदी तथा हिमनदीको निरन्तर निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली, स्थानीय तहसम्म तत्काल सूचना पु¥याउने संयन्त्र, सुरक्षित पूर्वाधार तथा नेपाल–चीनलगायत सीमापार सूचना आदानप्रदानलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरेका छन् ।
हिमालमा बदलिँदो जलवायु, अस्थिर हिमनदी, आकस्मिक विपद् र त्यससँग जुध्नुपर्ने नेपालको तयारीका विषयमा पनि अन्तर्राष्ट्रिय मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् ।