फोटो बोकेर ज्वाइँ खोजिरहेका अशोक

काठमाडौं । उनीसँग ठूलो पहुँच छैन । चिनजानका मानिसहरूको लामो सूची छैन । खोजीका लागि दौडधूप गर्ने आफन्तहरूको भीड पनि छैन । 

उनी शारीरिक रूपमा पूर्ण सक्षम पनि छैनन् । मजाले हिँड्न सक्दैनन् । बोल्दा शब्दहरू पनि स्पष्ट बुझ्न कठिन हुन्छन् । तर ज्वाइँ खोज्ने कुरा आउँदा उनका पाइला भने रोकिन्न ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीडतर्फ उनको पाइला लम्किरहेको छ । गह्रौं पाइला अस्पतालको गेटमा पुगेर अडिन्छ ।

त्यही फोटो देखाउँदै भन्छन्, ‘यो मानिस मेरो ज्वाइँ हो, फोटो हेरेर कतै खोजिदिनू न ।’ 

तिनै ज्वाइँ खोजी हिँड्ने ४७ वर्षीय अशोक शाह बालाजुबाट आएका हुन् । 

भारतको अन्धानगर घर भएका उनी दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । रसुवामा गत बुधबार आएको बाढीले ज्वाइँलाई बगाएको आशंकामा उनी अस्पतालमा आइपुगेका हुन् ।

३७ वर्षीय ज्वाइँ उमेश शाह बाढीमा परेको हुनसक्ने आशंकामा अस्पतालको शवगृहमा आइपुगेका हुन् ।

हातमा फोटो लिएर उनी प्रहरीलाई सोध्छन्, ‘यो मेरो ज्वाइँ हो, कतै देख्नुभएको छ ? फोटो हेरेर खोजिदिनू न ।’ आवाज अस्पष्ट सुनिन्छ, तर त्यो आवाजभित्रको पीडा भने स्पष्ट बताइरहेका थिए ।

null

अशोकको फोन पनि लगातार बजिरहन्छ । फोन गर्ने उनकी बहिनी हुन् । उताबाट एउटै प्रश्न आउँछ— ‘केही खबर आयो ?’

तर अशोकसँग जवाफ छैन । छेउमा उभिएका प्रहरी एसपी प्रदीप सिंहलाई फोटो देखाउँछन् । उनी फेरि फोटो  हेर्छन् । फेरि प्रहरीको अनुहार हेर्छन्। फेरि अस्पताल परिसरमा नजर दौडाउँछन् ।

‘एक सातादेखि लुगा फेरेको छैन,’ उनी भन्छन् । उनले खाना पनि राम्ररी खान पाएका छैनन् । अशोकको पेटभन्दा मन भारी छ । निद्राभन्दा चिन्ता ठूलो छ । शरीर थाकेको छ, तर खोजी रोकिन सकेको छैन ।

माछापोखरीमा बस्ने अशोक सानो व्यापार गरेर जीवन चलाउँछन् । टिस्यु, झोला र गिलास बेच्ने उनको सामान्य दैनिकी थियो । सानो कमाइ, सानो संसार र सामान्य जीवन । उनले हिजोआज ज्वाइँको खोजीमा लागेकाले केही गर्न सकेका छैनन् ।

‘म बालाजुमा एक्लै बस्छु,’ अशोक भन्छन्, ‘आफन्त कोही छैनन् ।’ 

बहिनीलाई के भन्ने उनलाई त्यहीँ चिन्ताले सताउन थालेको छ । उनलाई चार जना भान्जाभान्जीले मामा के भयो भनेर सोधिरहन्छन् । अशोकसँग सुन्नदेखि अर्को विकल्प छैन । जवाफबाट नाजवाफ छन् ।

उनका लागि आफन्तको अर्थ पनि सीमित थियो । त्यसमध्ये एक जना ज्वाइँ परिवारका लागि विशेष सहारा थिए । आज त्यही सहारा बेपत्ता भएका छन् । अशोक आफैं असहाय भएर खोजीमा भौंतारिरहेका छन् ।

बेपत्ता भएका उमेश शाह ३७ वर्षका थिए । उनको घर पनि भारत तर नेपालमा बस्न थालेको १४ वर्ष भइसकेको छ । उमेश टायल लगाउने कामका ठेकेदार थिए । उनका ज्वाई उमेश कामको खोजी र परिवारको भविष्यका लागि उनी जहाँ अवसर भेट्थ्यो, त्यहीँ पुग्थे।

पछिल्लो चार महिनादेखि उनी केरुङ क्षेत्रमा काम गरिरहेका थिए। चीनको सीमावर्ती क्षेत्रमा काम गर्नु सजिलो थिएन । परिवारबाट टाढा बस्नुपथ्र्यो । जोखिम र कठिनाइ पनि थिए ।

उमेश केवल बुवा मात्र थिएनन्, परिवारको भविष्य थिए । घरको आशा थिए । कमाएर परिवार पाल्ने आधार थिए ।

नेपालमा पसिना बगाएर उनले भारतमा रहेका आफ्ना परिवारका सदस्यहरूको जीवनमा खुसी ल्याउने प्रयास गरिरहेका थिए ।

null

अशोक भन्छन्, ‘ मेरो ज्वाइँ परिवारको सहारा थिए ।’ बाढीले ज्वाइँलाई मात्र होइन, परिवारको भरोसा पनि बगाएको छ ।

अशोकका लागि उमेश हराउनु भनेको परिवारको एउटा सदस्य मात्र हराउनु होइन । उनी भन्छन्, ‘एक जना ज्वाइँ आफन्त थिए, उनी पनि हराए ।’

आफै राम्रोसँग हिँड्न नसक्ने अशोक अहिले अस्पताल, प्रहरी कार्यालय र खोजी हुने ठाउँहरूमा पुगिरहेका छन् । उनीसँग खोजीका लागि सुविधा छैन । शरीरले साथ दिइरहेको छैन । बोलाइ पनि प्रस्ट छैन । तर ज्वाइँको फोटो भने उनको हातबाट छुट्दैन । सायद उनीभित्र एउटा विश्वास अझै बाँकी छ कतै न कतै उमेश भेटिन्छन् कि !

‘कतै देख्नुभएको छ भने खबर गरिदिनु न ।’ अस्पतालमा आउने मानिसहरूको भीड देख्दा अशोकको नजर प्रत्येक अनुहारमा पुग्छ ।

कतै उमेश जस्तै अनुहार देखिन्छ कि ? कतै घाइतेको सूचीमा नाम भेटिन्छ कि? कतै उद्धार गरिएका मानिसमध्ये उनी छन् कि ? यही प्रश्नको उत्तर खोज्दै उनी एक सातादेखि भौंतारिरहेका छन् । 

घरमा बस्दा फोन बज्छ । खोजीमा निस्किँदा बहिनीको फोन आउँछ । उताबाट फेरि सोधिन्छ, ‘केही पत्ता लाग्यो ?’ उनीसँग अहिले एउटा फोटो छ, एउटा नाम छ र एउटा आशा छ ।

Share News