काठमाडौं । अस्ट्रेलियाका सबै मुख्य सहरमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामा खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।
सोमबार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरमा एउटा फ्ल्याट (युनिट) भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।
प्रतिवेदनका अनुसार वार्षिक ७० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । त्यस्तै, वार्षिक ४० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिका लागि आवास खर्च कुल आम्दानीको ८९ प्रतिशत पुग्छ भने वार्षिक १ लाख डलर आम्दानी गर्नेहरूले समेत आफ्नो कमाइको ४१ प्रतिशत हिस्सा भाडामै खर्च गर्नुपर्ने अवस्था छ ।
अस्ट्रेलियाका आठवटै मुख्य सहरमा औसत कमाइ गर्ने कर्मचारीले एउटा युनिटको औसत भाडा तिर्न आफ्नो आम्दानीको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ ।
सिड्नीमा ७० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्ने देखिएको छ । यो अन्य सबै सहरको तुलनामा उच्च अनुपात हो ।
अस्ट्रेलियाली तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अगस्ट २०२५ सम्ममा अस्ट्रेलियाली कर्मचारीको औसत वार्षिक तलब ७४ हजार १०० अस्ट्रेलियाली डलर रहेको छ ।
आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकारले सार्वजनिक तथा सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताएकी छन् ।
‘संघीय सरकारले ठूलो मात्रामा सार्वजनिक र सामुदायिक आवास निर्माण गर्न आवश्यक छ । अस्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख यस्ता घरको आवश्यकता पर्ने देखिन्छ,’ अजिजले भनेकी छन् ।