काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक व्यावसायिक रूपमा याक (नाक) चिज उत्पादन हुने भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी) बीच सम्झौता भएको हो ।
शनिबार डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार डिडिसीले उद्योग सञ्चालनका लागि याक चिज उत्पादनसम्बन्धी तालिम, प्राविधिक जनशक्ति र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी जगदुल्ला गाउँपालिकाको हुनेछ ।
उत्पादन भएको चिज डिडिसीले खरिद गर्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ ।
डिडिसीका महाप्रबन्धक डा. पाण्डेले सम्झौतासँगै तत्काल काठमाडौंबाट प्राविधिक टोली डोल्पा पठाएर काम सुरु गरिने बताए ।
'हामी तत्कालै काठमाडौंबाट प्राविधिक पठाएर काम सुरु गर्छौँ । यहाँबाट हरेक वर्ष करिब ३० टन याक चिज उत्पादन गर्न सकिन्छ,' उनले भने ।
समुद्री सतहबाट करिब ४ हजार मिटरभन्दा बढी उचाइमा सञ्चालन हुने यो उद्योग कर्णालीमै पहिलो व्यावसायिक याक चिज उद्योग हुनेछ ।
डोल्पा चौरीपालनका लागि प्रसिद्ध जिल्ला मानिन्छ। स्थानीयका अनुसार यार्सागुम्बालगायत हिमाली वनस्पति चरन गर्ने चौरीको दूधबाट उत्पादन हुने याक चिजको स्वाद र गुणस्तर अन्य क्षेत्रको चिजभन्दा फरक हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले यो उद्योगले स्थानीय किसानको आम्दानी बढाउनुका साथै डोल्पाको हिमाली उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने विश्वास लिएको छ ।