युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

काठमाडौं । विश्वप्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो ‘रोबोट्याक्सी’ (चालकविहीन ट्याक्सी) सेवा सुरु गरेको छ ।

क्रोएसियाली स्वायत्त सवारीसाधन कम्पनी भर्नसँगको सहकार्यमा बुधबारदेखि यो सेवा आधिकारिक रूपमा सञ्चालनमा आएको हो । यससँगै जाग्रेब उबर एपमार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो सहर बनेको छ ।

भर्नका सह–संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रीकाका अनुसार यो उपलब्धि वर्षौँको निरन्तर प्रयास र प्राविधिक विकासको परिणाम हो ।

'हामीले सन् २०१९ मा स्वायत्त सवारी प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउने र भविष्यको यातायात कस्तो हुन्छ भन्ने देखाउने उद्देश्यका साथ यो कम्पनी स्थापना गरेका थियौँ,' मुद्रीकाले भने ।

उनले यो यात्रा चुनौतीपूर्ण भए पनि प्रयोगकर्ताको अनुभव र सुरक्षा पक्षलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।

यी स्वचालित सवारीसाधनमा सुरक्षाको सुनिश्चितताका लागि एक जना अटोनोमस भेहिकल अपरेटर (निरीक्षक) रहने व्यवस्था गरिएको छ । सवारीको ड्यासबोर्डमा जडान गरिएको ट्याब्लेटमार्फत सहरका चोक, ट्राफिक लाइट र पैदलयात्रीबीच गाडीले कसरी मार्गनिर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ ।

मुद्रीकाका अनुसार यो सेवा सञ्चालनमा ल्याउन प्रविधिको विकाससँगै नियामक निकायसँगको समन्वय पनि उत्तिकै महत्वपूर्ण थियो । युरोपेली कानुन र सरकारी मन्त्रालयहरूको सकारात्मक सहयोगका कारण व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त गर्न सहज भएको उनले जानकारी दिए ।

भर्नले चिनियाँ साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको हो । मुद्रीकाले पोनी एआईसँगको साझेदारीले सेवा परिमार्जन र विस्तारमा तीव्रता दिएको उल्लेख गर्दै भविष्यमा थप सुविधायुक्त नयाँ पुस्ताका सवारीसाधन ल्याउने योजना रहेको बताए ।

हाल यो सेवा जाग्रेबको करिब १०० वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताले भर्नको आफ्नै मोबाइल एप वा उबर एपमार्फत यो रोबोट्याक्सी सेवा लिन सक्नेछन् । यो सुरुवातलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा हेरिएको छ ।

Share News