काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी दुई फर्मलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले मंगलबार (भदौ २ गते) गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका-३२, कोटेश्वरस्थित न्यु फेमिली गर्ल्स होस्टललाई ३ लाख रुपैयाँ र काठमाडौं महानगरपालिका-३, महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
विभागका अनुसार न्यु फेमिली गर्ल्स होस्टलले विद्यार्थी भर्ना गर्दा बिल जारी नगरेको तथा स्वस्थकर खाना नखुवाएको पाइएपछि जरिवाना गरिएको हो । त्यस्तै, ओलीज स्टोर प्रालिले तोकिएको मूल्यभन्दा बढीमा वस्तु बिक्री गरेको पाइएपछि जरिवाना गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा ललितपुर महानगरपालिका-४ पुल्चोक डमकल मार्गस्थित खाना डट कम, काठमाडौं महानगरपालिका-१४ कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोर र बुढानीलकण्ठ नगरपालिका-४ बुढानीलकण्ठस्थित विश्राम रेस्टुरेण्ट एण्ड बारलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
खाना डट कमलाई दर्ताका कागजात, करचुक्ता, नवीकरण, प्रयोग भइरहेको क्यूआरको बैंक स्टेटमेन्ट तथा खरिद-बिक्रीसम्बन्धी कागजात पेस गर्न भनिएको छ । क्षितिज मेडिकल स्टोरलाई व्यवसायसँग सम्बन्धित कागजात तथा बिक्री गरिएका औषधिको मूल्यअनुसारको बिक्री बिल प्रमाणित हुने नमुना औषधिसहित बिल लिएर उपस्थित हुन निर्देशन दिइएको छ । विश्राम रेस्टुरेण्ट एण्ड बारलाई दर्ताका कागजात, खरिद तथा बिक्री बिल, ग्यास डिलरको प्रमाणपत्र र ग्यास वितरणको विवरणलगायतका कागजात पेस गर्न भनिएको छ ।
यस्तै, मध्यपुर थिमी नगरपालिका-१६, लोकन्थलीस्थित बट्ट सप्लायर्सलाई ग्यासको सहज आपूर्ति गर्न निर्देशन दिइएको छ । काठमाडौं महानगरपालिका-३, चक्रपथस्थित सीता ग्यास स्टोरलाई भने ग्यासको सहज बिक्री-वितरण गरिरहेकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत सो कार्यलाई निरन्तरता दिन निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौं महानगरपालिका-१४ स्थित वाटिका ट्रेडर्सलाई कारोबार गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गर्न निर्देशन दिइएको छ । ललितपुर महानगरपालिका-१० स्थित संगिज एपारेल स्टुडियोलाई खरिद बिल, बिक्री बिल तथा एमआरपी लेबललाई थप व्यवस्थित गर्न निर्देशन दिइएको छ ।
मध्यपुर थिमी नगरपालिका-३, गठ्ठाघरस्थित न्यू रिस्स्रा स्विट्सलाई खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गर्न र बिलबिजक जारी गरेर मात्र कारोबार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिका-४, गाम्चास्थित गायत्री स्पाइसेस एण्ड फुड प्रोडक्ट्स प्रालिलाई नियमित रूपमा बिलबिजक जारी गर्न तथा गुणस्तरयुक्त मालवस्तुको मात्र कारोबार गर्न निर्देशन दिइएको छ ।
सूर्यविनायक नगरपालिका-४, दधिकोटस्थित गढिमाई तेल मिललाई लेबलसहितको एमआरपी स्टिकर भएका मालसामान मात्र बिक्री-वितरण गर्न तथा मूल्यसूची थप व्यवस्थित गरी राख्न निर्देशन दिइएको विभागले जनाएको छ ।