‘यात्री नेपालको भूगोल सुहाउँदो बाइक हो, विश्व बजारमा गुडाउँछौँ’

यात्री केवल व्यापार होइन, राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने अभियान हो

नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङ र स्वदेशी विद्युतीय सवारी उत्पादक यात्री मोबिलिटीबीच रणनीतिक साझेदारी भएको छ । सिप्रदीले यसमार्फत दुई पाङ्ग्रे विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने र स्वदेशी इन्जिनियरिङलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । सिप्रदीको देशव्यापी सञ्जाल र सर्भिस नेटवर्कसँग यात्रीको प्राविधिक क्षमतालाई जोडेर नेपाली भूगोल सुहाउँदो गुणस्तरीय विद्युतीय सवारी उपलब्ध गराउने लक्ष्य राखिएको हो । सिप्रदीले नेपालमै उत्पादन भएको यो सवारीसाधनलाई नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी सिप्रदी र यात्रीबीचको यो साझेदारीले नेपाली अटो क्षेत्रमा कस्तो परिवर्तन ल्याउला ? यसको बजार विस्तार कसरी अगाडि बढ्ला त ? यिनै विषयमा केन्द्रित रहेर सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानीको सम्पादित अंश:

सिप्रदी ट्रेडिङ नेपालको अटोमोबाइल बजारमा एउटा स्थापित नाम हो । अहिले नेपालमा ईभी सवारी साधनको बजार उच्च दरमा विस्तार भइरहेको छ । यस्तो अवस्थामा सिप्रदीले यात्रीसँग साझेदारी गर्नुका मुख्य कारणहरू के-के हुन् ?

सिप्रदीले विगत ४४ वर्षदेखि नेपालको भौगोलिक परिस्थिति र आवश्यकतालाई सुहाउँदो सवारीसाधनहरू ल्याएर बिक्री वितरण गरिरहेको छ । हामीसँग कमर्सियल भेहिकलदेखि लिएर प्यासेन्जर कारहरूसम्मको बलियो पोर्टफोलियो छ । तर, एउटा कुरा हामीलाई सधैं खड्किरहेको थियो, त्यो हो दुईपाङ्ग्रे सवारीको उपस्थिति । अटोमोबाइलको यो ठूलो स्पेसमा सिप्रदीको उपस्थिति नहुँदा हामीले धेरै ग्राहकहरूलाई सेवा दिनबाट वञ्चित भइरहेका थियौं ।

हाम्रो लक्ष्य भनेकै नेपालभरका धेरैभन्दा धेरै ग्राहकलाई गुणस्तरीय सेवा दिनु हो । यात्रीसँगको सहकार्य केवल एउटा व्यापारिक निर्णय मात्र होइन, यो एउटा रणनीतिक कदम हो । नेपालमा दुई पाङ्ग्रे बजारको माग धेरै छ र हामी यो स्पेसमा एउटा बलियो र विश्वासिलो ब्रान्डका साथ प्रवेश गर्न चाहन्थ्यौँ । यात्रीले जुन किसिमको जग बसालेको छ, त्यसले हाम्रो यो इच्छा पूरा गर्ने मार्ग प्रशस्त गरेको छ ।

यात्री बाइकले सन् २०१७ बाट आफ्नो यात्रा सुरु गरेको थियो । नयाँ र नेपाली उत्पादनसँग सहकार्य गर्दा सिप्रदीले विकास र विस्तारलाई कसरी तीव्रता दिने योजना बनाएको छ ? 

यात्रीको सबैभन्दा ठूलो पुँजी भनेको नेपालको ट्यालेन्ट हो । हामीलाई के कुरामा गर्व छ भने नेपाली इन्जिनियरहरूले राइट फ्रम द स्क्र्याच (शून्यदेखि) डिजाइन गरेर गाडी बनाउन सक्ने क्षमता राख्छन् । यो जनशक्ति र यो प्रतिभालाई हामीले कसरी प्रवर्द्धन गर्न सक्छौं भन्ने नै हाम्रो मुख्य चिन्ता र चासो हो । यात्रीले बनाएको प्रडक्ट उत्कृष्ट छ । अब हाम्रो काम भनेको दुईजना मिलेर यो नेपाली उत्पादनलाई नेपालको कुनाकाप्चासम्म पुर्याउनु हो । सिप्रदीको विशाल नेटवर्क र यात्रीको प्राविधिक उत्कृष्टताबीचको तालमेलले गर्दा हामीले यो लक्ष्य सहजै हासिल गर्न सक्छौं । यसले नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन र स्वदेशी उत्पादनप्रति जनताको विश्वास जगाउन ठूलो मद्दत गर्नेछ । हामीले यो साझेदारीमार्फत नेपालको इन्जिनियरिङ क्षमतालाई विश्व बजारमा समेत प्रतिस्पर्धा गर्न योग्य बनाउने सोच राखेका छौं । 

null

नेपालमा थुप्रै अन्तर्राष्ट्रिय विद्युतीय दुई पाङ्ग्रे सवारीहरू उपलब्ध छन् ।  तर, उपभोक्ताहरूको अनुभव त्यति सुखद देखिँदैन । यस्तोमा यात्री नै किन उत्कृष्ट छ भन्ने लाग्छ ?

यो एकदमै महत्त्वपूर्ण प्रश्न हो । नेपालमा आयातित इलेक्ट्रिक टु-ह्विलरहरूको छवि त्यति राम्रो छैन । किनभने ती गाडीहरू नेपालको भूगोललाई ध्यान राखेर डिजाइन गरिएका होइनन् । बाहिरबाट आउने धेरैजसो गाडीहरूमा पर्फमेन्सको ठूलो समस्या देखियो । विशेष गरी उकालो बाटोमा जाँदा टिकाउपन कम हुने, ब्याट्री छिटो तात्ने र पर्फमेन्स घट्दै जाने समस्याहरू आए । नेपालको भौगोलिक अवस्था भिन्न छ । यहाँ तराईको गर्मी, पहाडको उकालो–ओरालो र हिमाली भेगको चिसो छ ।

यात्रीको टिमसँग छलफल गर्दा र उनीहरूको प्रडक्ट पी-वान  हेर्दा हामीले के पायौं भने यो पूर्णतः नेपालकै लागि डिजाइन गरिएको हो । यहाँको रोड कन्डिसन र ग्राहकको अपेक्षालाई यसले बुझेको छ । हाम्रो देशमा टु-ह्विलर केवल विलासिताको साधन मात्र होइन, यो एक आवश्यकता हो । मानिसहरूले यसमा पिलियन राइडिङ (दुईजना चढ्ने) मात्र गर्दैनन्, ग्यास सिलिन्डर बोक्नेदेखि अन्य व्यापारिक काममा पनि प्रयोग गर्छन् । यात्रीको इन्जिनियरिङ टिमले यी सबै कुरालाई ध्यानमा राखेर गाडी बनाएको छ । उनीहरूले चेसिस नेपालमै बनाउँछन् । बडी पार्ट्सहरू यहाँका भेन्डरहरूबाट तयार गर्छन् । यो कस्टमाइज्ड सोलुसन नै यात्रीको सबैभन्दा सबल पक्ष हो । 

सिप्रदीको आफ्नै इकोसिस्टम छ । सिप्रदीले यात्रीलाई आफ्नो इकोसिस्टममा कसरी समाहित गर्दैछ ?

हामी सधैं भन्छौँ इ-मोबिलिटी भनेको केवल गाडी बेच्नु मात्र होइन । यो त एउटा पूर्ण समाधान हो । यदि तपाईंले संसारकै उत्कृष्ट इलेक्ट्रिक बाइक बनाउनुभयो तर त्यसलाई चार्ज गर्ने ठाउँ छैन वा बिग्रँदा बनाउने मान्छे छैन भने त्यो प्रडक्ट सफल हुँदैन । हामीले टाटाका गाडीहरू ल्याउँदा पनि पहिला इकोसिस्टममै काम गर्यौं । यात्रीको हकमा पनि हामी त्यही गर्दैछौं । पहिलो, चार्जिङ नेटवर्क । हामीले सेन्ट्रल रिजनमा धेरै ठाउँमा चार्जिङ स्टेशनहरू बनाइसकेका छौं । र अब देशैभरि यसलाई विस्तार गर्दैछौं । 

दोस्रो, सर्भिस र मेन्टेनेन्स । सिप्रदीको उपस्थिति मेचीदेखि महाकालीसम्म छ । हामीले हाम्रा प्राविधिकहरूलाई यात्रीको रिपेयर र ब्याट्री म्यानेजमेन्टबारे तालिम दिन सुरु गरिसकेका छौं । ग्राहकले गाडी किनेपछि अब कहाँ गएर बनाउने ? वा पार्ट्स कहाँ पाइन्छ ? भनेर चिन्ता लिनु पर्दैन । यो पूर्ण इकोसिस्टम तयार भएपछि मात्र हामी मास स्केलमा बजारमा जान्छौं । यसले ग्राहकलाई एउटा ढुक्कको वातावरण सिर्जना गर्छ । 

यात्रीको टिम र सिप्रदीको टिमले कसरी मिलेर काम गर्छन् ?

हाम्रो भूमिका बहुआयामिक हुनेछ । मुख्यतया मार्केटको माग र ग्राहकको आवश्यकतालाई पहिचान गरेर यात्रीको इन्जिनियरिङ टिमलाई फिडब्याक दिने काम सिप्रदीले गर्छ । बजारको नाडी छाम्ने काम हाम्रो हो । त्यसपछि नेपालमै ठूलो स्तरमा उत्पादन गर्ने र यसको बिक्री वितरण गर्ने जिम्मेवारी हाम्रो हो । सिप्रदीको ४४ वर्षको अनुभवलाई हामीले यात्रीको नयाँपनसँग जोडेका छौं । हामी नेपालको ‘सस्टेनेबल मोबिलिटी’ मा पायोनियर हुन चाहन्छौं । प्राइभेट फोर–ह्विलरमा सिप्रदीले जुन खालको क्रान्ति ल्याएको छ । त्यही लेभलको काम अब टु–ह्विलरमा पनि हुनेछ । हामी यो ट्रान्जिसनलाई सिम्लेस बनाउन चाहन्छौं । 

यात्रीले सिप्रदीसँग हात मिलाएपछि बजारमा कस्तो परिवर्तनको अपेक्षा गर्न सकिन्छ ? विशेषगरी नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

यसले देशको अर्थतन्त्रमा धेरै ठूलो सकारात्मक प्रभाव पार्नेछ । हेर्नुस्, नेपालसँग अहिले विद्युत् उत्पादनको प्रचुर सम्भावना छ । झन्डै ४२००/४३०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ र आगामी केही वर्षमा हामीसँग विद्युत् बढी भएर खेर जाने स्थिति आउँदैछ । अर्कोतर्फ, हामीले अर्बौं रुपैयाँको फोसिल फ्युल (पेट्रोल/डिजेल) आयात गरिरहेका छौं । हाम्रो व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा नै इन्धन आयात हो। यदि हामीले टु-ह्विलरमा ५० देखि ७० प्रतिशतसम्म इभी पेनिट्रेसन गराउन सक्यौँ भने यसले विदेशी मुद्राको सञ्चिति बढाउँछ र व्यापार घाटा कम गछ । 

यसको अर्को पाटो भनेको क्याप्टिभ कन्जम्सन हो । हाम्रै देशमा उत्पादित ऊर्जा हाम्रै सवारी साधनमा प्रयोग हुनु भनेको पैसा देशबाहिर नजानु हो । यात्री र सिप्रदीको यो सहकार्यले नेपाललाई ऊर्जामा आत्मनिर्भर र वातावरणीय रूपमा स्वच्छ बनाउन ठूलो भूमिका खेल्नेछ । यो केवल एउटा बाइक बेच्ने कुरा होइन, यो त राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने एउटा अभियान हो । 

ट्यालेन्ट रिटेन्सन (प्रतिभा पलायन रोक्ने) को भन्नु भयाे । यसले रोजगारी र औद्योगिक वातावरणमा कसरी सहयोग पुर्याउँछ ?

नेपालमा धेरै दक्ष इन्जिनियरहरू छन् । तर अवसर नपाएर उनीहरू विदेश पलायन भइरहेका छन् । यदि हामीले यहीँ डिजाइन र उत्पादनको वातावरण बनाउन सक्यौँ भने उनीहरूलाई रोक्न सकिन्छ । यात्रीमा अहिले नै ६० भन्दा बढी इन्जिनियरहरू अहोरात्र खटिरहेका छन् । रोजगारीको कुरा गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका अवसरहरू सिर्जना गर्छ । जब हामी स्केल-अप गर्छौं, फ्याक्ट्रीमा सयौं मानिसले काम पाउँछन् । त्यसबाहेक ब्याकवार्ड इन्टिग्रेसनमार्फत धेरै सहायक उद्योगहरू फस्टाउँछन् । कसैले च्यासी बनाउला, कसैले टायर, कसैले हेल्मेट त कसैले ब्याट्री प्याकेजिङ । यसले गर्दा देशमा इन्डस्ट्रियलाइजेसनको एउटा लहर आउँछ । हामीले केवल एसेम्बली मात्र गर्न खोजेका होइनौं, हामीले त जगैदेखि उत्पादन गर्न खोजेका हौं । 

सिप्रदीको ४४ वर्षको ट्रस्ट र यात्रीको टेक्नोलोजी मिल्दा ग्राहकले कस्तो लाभ पाउँछन् ? 

ग्राहकको लागि सबैभन्दा ठूलो कुरा भनेको ‘पिस अफ माइन्ड’  हो । सिप्रदीले जे बोल्छ, त्यो गर्छ । हामीले विगत ४ दशकदेखि ग्राहकको विश्वास जितेका छौं । यात्री बाइक किन्दा ग्राहकलाई भोलि यो कम्पनी भाग्छ कि वा पार्ट्स पाइएन भने के गर्ने भन्ने डर हुँदैन । किनभने यसको पछाडि सिप्रदीको बलियो साथ छ । यात्रीको अपरेटिङ कस्ट (सञ्चालन खर्च) पेट्रोल बाइकको तुलनामा नगन्य छ । यसको पर्फमेन्स कुनै पनि पेट्रोल बाइकको भन्दा कम छैन, बरु बढी नै छ ।

हामीले जुन यात्रीको पीटु मोडल ल्याउँदैछौं, त्यो विश्वस्तरको छ । यसमा ब्याट्री लाइफ, मोटर पावर, कनेक्टिभिटी र सुरक्षाका सुविधाहरू बेन्चमार्क हुने गरी राखिएका छन् । हामीले अन्तराष्ट्रिय परीक्षण केन्द्रहरू (जस्तै भारतको  र नेपालको यातायात व्यवस्था विभागबाट सबै मापदण्डहरू पूरा गरिसकेका छौं । 

अहिले यात्री बाइक मुख्यतया काठमाडौंमा मात्र देखिन्छन् । सिप्रदीसँगको साझेदारीपछि देशका अन्य भागमा यसको विस्तार योजना कस्तो छ ?

हाम्रो योजना फेज वाइज (चरणबद्ध) छ । धादिङमा हाम्रो फ्याक्ट्री निर्माणको अन्तिम चरणमा छ । उत्पादन सुरु भएपछि पहिलो प्राथमिकता काठमाडौं हुनेछ । किनभने यो सबैभन्दा ठूलो बजार हो । तर हामी काठमाडौंमा मात्र सीमित हुँदैनौं । सिप्रदीको सञ्जाल भएका सबै प्रमुख सहरहरूमा हामी चाँडै पुग्नेछौं ।  बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज, इटहरी, बिर्तामोड जस्ता सहरहरूमा हाम्रा ग्राहकहरूले चाँडै यात्री बाइक चलाउन पाउनुहुनेछ । हामी अल-नेपाल सर्भिस र सेल्स नेटवर्क तयार गर्दैछौं ।

null

यात्रीलाई निर्यात गर्न कत्तिको सम्भव देख्नुहुन्छ ?

यो सम्भव मात्र होइन, हाम्रो दीर्घकालीन लक्ष्य नै यही हो । हामीले प्रडक्ट डिजाइन गर्दा नै अन्तर्राष्ट्रिय मापदण्डहरूलाई ध्यानमा राखेका छौं । नेपालको बजार सानो हुन सक्छ । तर यदि हामीले यहाँको कठिन भूगोलमा सफल हुने बाइक बनायौं भने त्यो संसारका अन्य धेरै देशहरूका लागि उपयुक्त हुन्छ । हामीले धेरै देशहरूको स्ट्यान्डर्ड मिट गर्ने गरी सर्टिफिकेसनको प्रक्रिया अगाडि बढाएका छौं । मेड इन नेपाल लेखिएको बाइक विश्वका सडकमा गुड्नु प्रत्येक नेपालीका लागि गर्वको कुरा हुनेछ र हामी त्यसका लागि दृढ छौं । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि तपाईंहरूको प्लान र प्रोडक्टको अवलोकन गर्नुभएको थियो । सरकारबाट तपाईंहरूको अपेक्षा के छ ?

अर्थमन्त्रीज्यूले आफ्नो व्यस्त समयका बाबजुद हाम्रो कार्यस्थलमा आएर निकै चासोका साथ अवलोकन गर्नुभयो । उहाँले नेपाली इन्जिनियरहरूको काम देखेपछि ओहो यति तगडा काम भइरहेको रहेछ भनेर जुन प्रतिक्रिया दिनुभएको छ, त्यसले हाम्रो हौसला बढाएको छ । उहाँले सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । हाम्रो अपेक्षा भनेको नीतिगत स्थिरता र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने वातावरण हो । यदि सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र आवश्यक पूर्वाधारमा सहयोग गर्ने हो भने हामी नेपाललाई इभी नवप्रवर्तनको केन्द्र बनाउन सक्छौं । 

नाडा अटो शोमा यात्रीको उपस्थिति रहन्छ ?

भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोमा यात्री विशेष आकर्षण रहनेछ । हामी त्यहाँ हाम्रो नयाँ प्रडक्ट सार्वजनिक गर्दैछौं । नेपाली इन्जिनियरिङको कमाल हेर्न चाहने र इ-मोबिलिटीमा रुचि राख्ने सबैका लागि यो एउटा ठूलो अवसर हुनेछ । म सबैलाई त्यहाँ आएर हाम्रो स्वदेशी उत्पादनको अनुभव लिन आग्रह गर्दछ । 

अन्त्यमा यात्रीको फ्याक्ट्री र आर एण्ड डीको अवस्थाबारे अलिकति प्रस्ट पारिदिनूस् न ?

अहिले हाम्रो आर एण्ड डी सेन्टर बूढानीलकण्ठमा छ । जहाँ ६० भन्दा बढी दक्ष इन्जिनियरहरूले अनुसन्धान र डिजाइनको काम गरिरहनुभएको छ । हाम्रो मुख्य फ्याक्ट्री चाहिँ धादिङमा बनिरहेको छ । सुरुमा हामी २५० भन्दा बढी कर्मचारीबाट उत्पादन सुरु गर्नेछौं । माग बढ्दै जाँदा यो संख्या पनि बढ्दै जानेछ । हामी एकदमै उत्साहित छौं ।

null

Share News