काठमाडौं । कामना सेवा विकास बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा आफ्ना ग्राहकलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।
ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा उक्त कारोबार स्वतः ‘लक्की ड्र’का लागि समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन ।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गरी दैनिक एक जनालाई कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।
यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ ।
साथै आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ ।