काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिकास्थित कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहले मिलेमतो गरी विद्यालयमा अनुपस्थित रहेको अवधिको हाजिरी तथा बिदाको अभिलेखमा हेरफेर गरेका थिए । उनीहरूले सरकारी सम्पत्तिमा हानिनोक्सानी तथा हिनामिना गर्ने बदनियत राखेको आयोगको दाबी छ ।
आयोगका अनुसार शिक्षिका सिंह २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित थिइन् । तर तत्कालीन प्रधानाध्यापक यादवले उनीमाथि कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखेका थिए । पछि विद्यालय आएपछि एकमुष्ट हाजिरी गराइएको र त्यसलाई सच्याएर पुनः हाजिरी गराइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
उक्त हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी शिक्षिका सिंहको छुट तलबबापत २ लाख ९० हजार ४३४ रुपैयाँ निकासा गरिएको आयोगले जनाएको छ । आयोगको अनुसन्धानअनुसार विद्यालयमा अनुपस्थित अवधिको तलबसहित जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा गैरकानुनी रूपमा निकासा गरी भुक्तानी गरिएको देखिएको छ ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिमको कसुर भएको ठहर गरेको छ । सोही आधारमा दुवै प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारले तत्कालीन प्रधानाध्यापक यादव र शिक्षिका सिंह दुवैबाट ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी कैद तथा जरिवाना सजाय र बिगो असुलउपरको मागदाबी गरेको छ ।