सरकारको तदर्थवादी निर्णयले भान्सा महँगो बन्यो: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ गतेदेखि जारी बैठकले सरकारका तदर्थवादी निर्णय र जनजीविकाका सवाललाई लिएर चारबुँदे माग अघि सारेको छ । 

पार्टी कार्यालय बि.पी. नगर ललितपुरमा आयोजित बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा एल.पि. ग्यास आपूर्तिमा देखिएको समस्या, ऊर्जा नीति, कृषि तथा मल व्यवस्थापन र महँगी नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । 

कांग्रेसले पूर्वतयारी र यथेष्ट भण्डारणको व्यवस्था नगरी १४.२ केजीको सिलिन्डर वितरण गर्ने हचुवा निर्णयले ग्यासको हाहाकार बढाएको भन्दै कुटनीतिक पहल गरी ग्यासको आयात दोब्बर बनाउन र आपूर्ति सञ्जाल सहज बनाउन माग गरेको छ ।

त्यसैगरी, सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा अतिरिक्त कर थपेर स्वच्छ ऊर्जा प्रयोगलाई निरुत्साहित बनाएको भन्दै कांग्रेसले ती करहरू तत्काल हटाउन र इन्डक्सन चुलोलगायतका उपकरणमा पुनः सहुलियत दिन आग्रह गरेको छ । 

कृषि क्षेत्रको समस्या औँल्याउँदै मुख्य सिजनमा रासायनिक मलको अभाव, बिचौलियाको बिगबिगी र सीमावर्ती क्षेत्रका किसानले भोग्नुपरेको सास्तीको स्थायी समाधान गर्न तथा किसानका उत्पादनको उचित समर्थित मूल्य ग्यारेन्टी गर्न पनि सरकारसँग जोडदार माग गरिएको छ । 

साथै, मूल्यवृद्धि नियन्त्रण, बजार अनुगमन र आम नागरिकलाई राहत दिने ठोस कार्यक्रम ल्याउन कांग्रेसले जोड दिएको छ । बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी छलफल साउन २६ गते पुनः बस्ने गरी स्थगित भएको छ ।

Share News