कार बेचेर घडीको व्यवसाय सुरु, अहिले ४० करोड कारोबार

नरेन्द्र मोदीको हातमा पनि जयपुर वाच कम्पनीको घडी

काठमाडौं । यदि कपडा र गहना आफ्नो रुचिअनुसार बनाउन सकिन्छ भने घडी किन बनाउन नसकिने ? यही सोच र घडीप्रतिको गहिरो रुचिले भारतको जयपुरका गौरव मेहतालाई अनौठो व्यवसाय सुरु गर्ने प्रेरणा दियो । 

उनले सन् २०१३ मा जयपुर वाच कम्पनी स्थापना गरे । कम्पनीले पुराना सिक्का, हुलाक टिकट, चित्रकला तथा विशेष डिजाइन प्रयोग गरेर आफूले चाहेजस्तो घडी तयार गर्छ ।

सुरुवाती चरणमा भने यो व्यवसायमा निकै चुनौती थिए । भारतमा त्यतिबेला महँगा घडीको बजारमा विदेशी कम्पनीहरूको दबदबा थियो । भारतीय घडी विदेशी ब्रान्डजत्तिकै राम्रो हुँदैनन् भन्ने धारणा पनि मानिसहरूमा थियो । तर पनि गौरवले गरेरै छाड्छु भन्ने अठोट लिए ।

गौरवले सन् २०१३ मा कम्पनी सुरु गर्न करिब ३० लाख भारु लगानी गरे । त्यसका लागि उनले आफ्नो बीएमडब्ल्यू कार बेचे र साथीहरूबाट समेत पैसा सापटी लिए । सुरुवातमा उनले घडी बनाउने कला बुझ्न निकै अध्ययन तथा अनुसन्धान गरे । यस क्रममा उनले पुराना सिक्काका विशेषज्ञ तथा घडी निर्मातासँग काम गरे ।

सन् २०१३ मा गौरवले जयपुर वाच कम्पनीको फेसबुक पेज बनाएर सशुल्क विज्ञापन सुरु गरे । दिल्लीका एक ग्राहकले घडी नहेरी नै उनका तीनवटा घडी खरिद गरे । यसबाट गौरवलाई निकै हौसला मिल्यो ।

त्यसपछि मुम्बईको एउटा ठूलो कलेक्टिबल्स स्टोरले उनका घडी बिक्री गर्न थाल्यो । करिब २३ हजार भारु मूल्य पर्ने पहिलो कलेक्सन दुई महिनामै बिक्री भयो । त्यसपछि उनले ताज र ओबेराय समूहका केही होटलमा समेत घडी बिक्री गर्न थाले ।

सन् २०१५ मा उनले बेंगलुरुमा उत्पादन इकाइ स्थापना गर्न करिब १ करोड २० लाख भारु लगानी गरे । कम्पनी सन् २०१७ मा नाफा–नोक्सान बराबरी अर्थात् ब्रेक–इभन अवस्थामा पुग्यो ।

जयपुर वाच कम्पनीका घडीको सबैभन्दा ठूलो विशेषता तिनको अनौठो डिजाइन हो । घडीका डायलमा पुराना सिक्का, हातले बनाइएका चित्र, हुलाक टिकट, देवी–देवताका तस्बिर, क्यालिग्राफी तथा बहुमूल्य पत्थर प्रयोग गरिन्छ ।

कम्पनीका घडीहरू करिब १५ हजारदेखि २४ लाख भारुसम्म मूल्यमा बिक्री भएका छन् । २४ लाख भारुको एउटा विशेष घडी ग्राहकका लागि बनाइएको थियो, जसमा सुन र हिराबाट फूलजस्तो डिजाइन तयार गरिएको थियो ।

कम्पनीले बेलायतका राजा जर्ज छैटौंका पुराना सिक्का प्रयोग गरेर ३५ वटा घडीको कलेक्सन समेत बनाएको छ । त्यस्तै जयपुरका महाराजा सवाई मानसिंह द्वितीयका पुराना सिक्का प्रयोग गरेर ५० वटा घडीको कलेक्सन तयार गरिएको छ ।

प्रधानमन्त्री मोदीले पनि किने घडी

गौरवको व्यवसायमा अर्को ठूलो मोड सन् २०२५ को अन्त्यतिर आयो । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा जयपुर वाच कम्पनीको घडी देखिएको जानकारी भयो। सुरुमा उनले यो कुरामा विश्वास गरेनन् ।

पछि उनको टोलीले प्रधानमन्त्रीका आधिकारिक तस्बिरहरू जाँच गर्दा उक्त घडी वास्तवमै आफ्नै कम्पनीको भएको पुष्टि भयो । अझ रोचक कुरा त्यसका लागि कुनै सशुल्क अभियान, सेलिब्रिटी समर्थन वा पीआर अभियान चलाइएको थिएन ।

त्यसपछि कम्पनीको अनलाइन माग तीव्र रूपमा बढ्यो। पहिलोपटक कम्पनीको कारोबारमा अनलाइन बिक्रीले अफलाइन खुद्रा व्यापारलाई उछिन्यो ।

हाल कम्पनीको करिब ७० प्रतिशत कारोबार अनलाइन बिक्रीबाट आउने गरेको छ । कम्पनीले स्विट्जरल्यान्ड र जापानसहित ४० भन्दा बढी देशबाट अर्डर प्राप्त गरिरहेको छ ।

रिपोर्टअनुसार कम्पनीले गत वर्ष करिब २५ करोड भारु (४० करोड रुपैयाँ) को कारोबार गरेको थियो । चालु वर्षमा भने कारोबारलाई ७५ देखि ८० करोड भारु (१ अर्ब २० करोडदेखि १ अर्ब २८ करोड रुपैयाँ) सम्म पुर्याउने लक्ष्य राखिएको छ ।

Share News