‘शहादत हाम्रो सपना हो, मृत्युसम्म दृढ भएर उभिइरहनेछौं : इरानी राष्ट्रपति

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना नागरिकहरू कठिन परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताएका छन् ।

इरानको फार्स न्युज एजेन्सीका अनुसार पेजेस्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गरिन्छ । यो कुरा मेरो बुझाइभन्दा बाहिर छ ।’

उनले भने, ‘जब हामी युद्धमा हुन्छौं, तब वस्तुको अभावको सामना गर्नुपर्ने हुन्छ र त्यसबाट उत्पन्न कठिनाइ सामना गर्न हामी तयार हुनुपर्छ ।’

पेजेस्कियानले आफूहरू युद्ध लड्ने र युद्धका कठिनाइलाई समेत स्वीकार गर्ने बताए । 

उनले भने, ‘क्रान्तिका नेताले जे निर्णय गर्नुहुन्छ, हामी अन्तिम समयसम्म त्यसैको साथमा उभिइरहनेछौं ।’

‘मलाई लड्न डर लाग्दैन । शहादत (कुनै उद्देश्यका लागि जीवन बलिदान गर्नु अर्थात् सहिद हुनु) हाम्रो सबैभन्दा प्रिय सपना हो र हामी मृत्युसम्म दृढतापूर्वक उभिइरहनेछौं,’ उनले थपे ।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाले इरानका छवटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् ।

बीबीसी फार्सीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा छुट, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानविरुद्धका धम्की रोक्ने र जफत गरिएका इरानी सम्पत्ति फुकुवा गर्नेलगायतका विषय छन् ।

यी सर्तका कारण अमेरिका र इरानबीच तत्काल कुनै सम्झौता हुन कठिन हुन सक्ने अनुमान गरिएको छ ।

हर्मुज जलडमरूमध्य खोल्न इरानले अमेरिकासँग राख्यो यी सर्त

Share News