नेपाल विनटेक एक्स्पो असोज २३ देखि, ६५ भन्दा बढी प्रदर्शनी स्टल रहने

काठमाडौं । विनटेक एलायन्स नेपालले नेपाल विनटेक एक्स्पो २०२६ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

एक्स्पो आगामी असोज २३, २४ र २५ गते अर्थात् अक्टोबर ९, १० र ११ मा ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ ।

पहिलो संस्करणको सफलतापछि यसपटक एक्स्पोलाई थप भव्य र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यस वर्ष एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ । पहिलो संस्करण भने दुई दिनमा सीमित थियो ।

एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । दुईवटा एक्सपेरियन्स जोनसमेत राखिनेछ ।

स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन् । कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, एम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजीलगायतका प्रविधि प्रस्तुत गरिनेछ ।

विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक सार्वजनिकसमेत गर्ने आयोजकले जनाएको छ ।

एक्स्पोको उद्घाटन समारोह अक्टोबर ९ मा हेरिटेज गार्डेन परिसरस्थित क्लासिक भेन्युमा हुनेछ ।

आयोजकका अनुसार एक्स्पोमा ६ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप तथा विद्यार्थीको सहभागिता रहनेछ ।

हाल विनटेक एलायन्स नेपालमा ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन् । संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एक्स्पोमा टाइटल स्पोन्सर, पावर्ड बाइ पार्टनर, गोल्ड, सिल्भर तथा नेटवर्किङ स्पोन्सरका रूपमा सहकार्य गर्न सकिनेछ ।

प्रदर्शकका लागि प्रतिस्टल ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ । एलायन्सका कर्पोरेट सदस्यलाई भने ५० प्रतिशत छुट दिइनेछ। अन्तर्राष्ट्रिय प्रदर्शकका लागि प्रतिस्टल ७५० अमेरिकी डलर शुल्क तोकिएको छ ।

एक्स्पोको पहिलो दिन साँझ स्पोन्सर, प्रदर्शक, साझेदार, नियामक निकाय, बैंक तथा फिनटेक कम्पनीका प्रतिनिधिबीच नेटवर्किङ डिनरसमेत आयोजना गरिनेछ ।

यसपटक पहिलोपटक प्रिमियम लाउन्ज सेवाको व्यवस्था गरिएको छ । प्रिमियम पासवाहक, विशिष्ट अतिथि तथा आमन्त्रित प्रतिनिधिले उक्त सेवामार्फत विशेष आतिथ्य र व्यवसायिक नेटवर्किङ सुविधा पाउनेछन् ।

खल्तीलाई एक्स्पोको आधिकारिक टिकटिङ पार्टनर नियुक्त गरिएको छ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

आयोजकले एक्स्पोलाई वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य तथा डिजिटल रूपान्तरणलाई अघि बढाउने साझा मञ्चका रूपमा विकास गर्ने जनाएको छ ।

Share News