काठमाडौं । थाइल्यान्डकोएक विद्यालयमा गोली चल्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् ।
राजधानी बैंककसँग जोडिएको नोनथाबुरी प्रान्तको बैंक क्रुआई जिल्लास्थित विद्यालयमा गोली चलेकाे हाे ।
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच जना शिक्षक रहेका छन् ।
घटनामा संलग्न व्यक्ति विद्यालयकै कक्षा ९ का विद्यार्थी रहेको प्रहरीले जनाएको छ । थाइल्यान्डमा कक्षा ९ का विद्यार्थीको उमेर सामान्यतया करिब १४ वर्ष हुन्छ ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब १०ः३० बजेसम्म घटनास्थलको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको थिएन ।
गोली चलाएपछि संदिग्ध विद्यार्थीले आफूलाई पनि गोली हानेका थिए । प्रहरीले उनको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
थाइल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार संदिग्धले विद्यालय जानुअघि आफ्ना हजुरबुबा र हजुरआमाको समेत हत्या गरेको आशंका गरिएको छ ।
दुवै जनाको शव उनीहरूको घरमा फेला परेको बताइएको छ ।
घटनामा प्रयोग भएको बन्दुक संदिग्धका हजुरबुबाको भएको बताइएको छ । उनका हजुरबुबा यसअघि विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको जनाइएको छ ।
घटनाप्रति थाइल्यान्डका प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै निन्दा गरेका छन्। उनले यस्तो घटना हुनु नहुने भन्दै पीडितप्रति दुःख व्यक्त गरेका छन् ।
‘यो निकै दुःखद घटना हो । यस्तो हुनु हुँदैनथ्यो । म पीडितहरूका लागि मात्र दुःखी छैन, यस्तो घटना हुनै नहुनेमा पनि मलाई दुःख लागेको छ । हाम्रो देशमा यस्तो कसरी हुन सक्छ, ’ उनले भनेका छन् ।