काठमाडौं । विपन्न तथा न्यून आय भएका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने मुख्य लक्ष्यसहित स्थापना गरिएका लघुबीमा कम्पनीहरूको प्राथमिकता सर्वसाधारणमा बीमासम्बन्धी जनचेतना फैलाउनुभन्दा आफ्ना अभिकर्ता र जनशक्ति बलियो बनाउनतर्फ बढी केन्द्रित देखिएको छ ।
विशेषगरी लघु जीवन बीमा कम्पनीहरूको ध्यान तालिममा बढी केन्द्रित भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘नेपालको लघुबीमा क्षेत्रसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ अनुसार लघुबीमा व्यवसाय मात्रै गर्ने गरी स्थापना भएका सातवटा लघुबीमा कम्पनीले २०८२/८३ फागुन मसान्तसम्ममा क्षमता विकास (तालिम), सामाजिक उत्तरदायित्व र जनचेतनाका क्षेत्रमा कुल ९२ लाख ३६ हजार ५२० रुपैयाँ खर्च गरेका छन् ।
तर, लघुबीमा कम्पनीहरूले जनचेतनामूलक कार्यक्रममा भने जम्मा ४ लाख ५५ हजार रुपैयाँ मात्रै खर्च गरेका छन्, जुन कुल खर्चको करिब ५ प्रतिशत हो । यसको तुलनामा कम्पनीहरूले तालिममा मात्रै ७८ लाख १९ हजार ८१४ रुपैयाँ खर्च गरेका छन् । यो कुल खर्चको ८४.६ प्रतिशत हो ।
ग्रामीण क्षेत्रका न्यून आय भएका तथा पछाडि परेका वर्गलाई लक्षित गरी ल्याइएको लघुबीमाले पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा अपेक्षाअनुसार बजार विस्तार गर्न सकेको छैन ।
बीमा भनेको के हो र यसले कसरी आर्थिक सुरक्षा प्रदान गर्छ भन्नेबारे समेत जानकारी नभएका ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई लक्षित गरी जनचेतना फैलाउने कार्यक्रममा लघुबीमा कम्पनीहरूले गरेको न्यून खर्च निराशाजनक रहेको सरोकारवालाहरू बताउँछन् ।
जनचेतनामूलक कार्यक्रममा ‘शून्य’ खर्च
जनचेतनामूलक कार्यक्रममा लघु जीवन बीमकहरूको अवस्था झनै दयनीय देखिएको छ ।
प्रतिवेदनअनुसार लघु जीवन बीमा कम्पनीहरूले जनचेतनामूलक कार्यक्रममा एक रुपैयाँ पनि खर्च गरेका छैनन् । जनचेतनाका लागि भएको कुल ४ लाख ५५ हजार रुपैयाँ खर्चको शतप्रतिशत रकम निर्जीवन लघुबीमा कम्पनीहरूले मात्रै गरेका हुन् ।
यसको विपरीत लघु जीवन बीमा कम्पनीहरूले सीएसआर (सामाजिक उत्तरदायित्व) मा ६२.३२ प्रतिशत र तालिममा ६१.५२ प्रतिशत रकम खर्च गरेका छन् । प्रतिवेदनअनुसार लघु जीवन बीमक कम्पनीहरूले सामाजिक उत्तरदायित्वमा ५ लाख ९९ हजार र तालिममा ४८ लाख १० हजार रुपैयाँ खर्च गरेका हुन् ।
यो तथ्यांकले लघु जीवन बीमा कम्पनीहरू गाउँ–गाउँमा पुगेर सर्वसाधारणलाई बीमाबारे बुझाउने र जनचेतना फैलाउनेभन्दा आफ्ना कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र अन्य सामाजिक गतिविधिमा बढी केन्द्रित रहेको देखाउँछ ।

कुन कम्पनीको खर्च कति ?
आव २०८२/८३ को फागुन मसान्तसम्ममा सबैभन्दा धेरै खर्च गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले तालिम र सामाजिक उत्तरदायित्व शीर्षकमा कुल (२३ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्चको २६ प्रतिशत हो ।
त्यस्तै, लिबर्टी माईक्रो लाईफले तालिम तथा सामाजिक उत्तरदायित्व शीर्षकमा कुल खर्चको १८ प्रतिशत अर्थात १६ लाख ५२ हजार ६५६ रुपैयाँ खर्च गरेको छ । क्रेस्ट माईक्रो लाईफले तालिम, सामाजिक उत्तरदायित्व र जनचेनामूलक शीर्षकमा १३ लाख ९६ हजार २६४ रुपैयाँ खर्च गरेका छन् । यो कुल खर्चको १५ प्रतिशत हो ।
त्यसैगरी, प्रोटेक्टिभ माइक्रोले १३ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्चको १५ प्रतिशत हो । ट्रस्ट माइक्रोले कुल खर्चको ११ प्रतिशत १० लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।
सबैभन्दा कम खर्च स्टार माइक्रो इन्स्योरेन्सले गरेको छ । कम्पनीले कुल खर्चको ७ प्रतिशत अर्थात ६ लाख २७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।

नेपालमा न्यून भएका, आर्थिक, सामाजिक तथा भौगोलिक रूपले पिछाडिएका वर्ग तथा समुदायलाई वित्तीय मूल प्रवाहीकरणमा समावेश गराउने उद्देश्यका साथ लघुबीमा निर्देशिका २०७१ जारी भएको थियो ।
यस नीतिगत व्यवस्थाअनुरूप ठूला बीमा कम्पनीहरूमार्फत लघु बीमा व्यवसाय हुँदै आएको थियो ।
ती बीमा कम्पनीहरूले लघुबीमाको उद्देश्यअनुरूप काम गर्न नसकेपछि लघु बीमा मात्रै व्यवसाय गर्ने गरी २०७९ र ८० सालमा लघु जीवन बीमार्फत ३ वटा र लघु निर्जीवन बीमामार्फत ४ वटा गरी कुल ७ वटा बीमा कम्पनी स्थापना भयो ।
सञ्चालनको करिब ३ वर्षको अवधिमा लघु बीमा कम्पनीहरूले पनि सोचेअनुसार ग्रामीण क्षेत्रमा गएर व्यवसाय गर्न सकेका छैनन् । सबै बीमा कम्पनीको व्यवसाय सहरकेन्द्रित नै हुँदै आएको छ ।
लघुबीमा क्षेत्रको समग्र सुधारको लागि नीतिगत तथा नियामकीय हस्तक्षेप आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।