वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, यी सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार वर्षाका कारण केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही सडकमा रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार इलामको इलाम नगरपालिका-९ अन्तर्गत मेची राजमार्गको सडकखण्ड अत्यधिक वर्षाका कारण हिलाम्मे बनेपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु-रामेछाप सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।

गोरखाको धार्चे गाउँपालिका-३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट सडकको कच्ची खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध पनि लगाइएको छ । बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

यस्तै, कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ ।

मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेको भन्दै नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।

Share News