धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

काठमाडौं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् ।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अघि बढाएका हुन् ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।

सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो ।

आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा हुनुहुन्छ ।

वार्तामार्फत केही स्थानको अवस्था क्रमिक रूपमा शान्त बन्दै गएको छ ।

प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन ।

सरकारले वार्ता र संवादमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।

Share News