झुट्टा प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियर राकेश कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दासले नियुक्ति लिँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानका क्रममा उनले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको इन्टरमिडियट तहको प्रमाणपत्र र श्री वेंकटेश्वरा विश्वविद्यालय, तिरुपतिबाट प्राप्त गरेको कम्प्युटर साइन्स विषयको इन्जिनियरिङ स्नातक तहको प्रमाणपत्र झुट्टा रहेको खुलेको आयोगले जनाएको छ ।

ती प्रमाणपत्रका आधारमा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिई तलब, सुविधा र अन्य लाभ लिएको आयोगको आरोप छ ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनअनुसार कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Share News