काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड२०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ ।
ईएमएफ ग्लोबलका संस्थापक अध्यक्ष जयदिप मेहताले यही साउन १५ देखि १७ गतेसम्म काठमाडौंस्थित द सोल्टी होटलमा हुने सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ले गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा आयोजना हुन लागेको यो सम्मेलनलाई पर्यटन क्षेत्रले उच्च मूल्यका पर्यटक (हाई-भ्यालु टुरिस्ट) आकर्षित गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, प्रोत्साहन भ्रमण, लक्जरी वेडिङ र ठूला व्यवसायिक कार्यक्रमहरूको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंसँगै पोखरा, जनकपुर, चितवनलगायतका प्रमुख पर्यटन गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, लक्जरी आतिथ्य सेवा तथा पर्यटन पूर्वाधारलाई अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
करिब १५ वर्षअघि स्थापना भएको ईएफमएफ ग्लोबल भारतको इभेन्ट, वेडिङ तथा एक्सपेरिएन्सियल उद्योगको सबैभन्दा प्रभावशाली संस्था भएको पनि अध्यक्ष महेताको दाबी छ । संस्थाले वार्षिक रूपमा आयोजना गर्ने एएमएफ ग्लोबल कन्भेन्सन विश्वका विभिन्न पर्यटन गन्तव्यमा हुँदै आएको छ ।
प्रत्येक संस्करणले आयोजक मुलुकलाई अन्तर्राष्ट्रिय वेडिङ, कर्पोरेट इभेन्ट तथा माइस बजारमा नयाँ सम्भावनासहित परिचित गराउँदै आएको छ । संस्थापक अध्यक्ष डा. मेहताले नेपाल हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा, आध्यात्मिक आकर्षण, स्तरीय होटल पूर्वाधार तथा भारतसँगको सहज पहुँचका कारण दक्षिण एसियाकै उत्कृष्ट डेस्टिनेशन वेडिङ र माइस पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।
उनका अनुसार नेपालमा सम्मेलन आयोजना गर्नुको उद्देश्य भारतीय तथा अन्तर्राष्ट्रिय इभेन्ट उद्योगलाई नेपालको सम्भावनासँग प्रत्यक्ष जोड्नु, सीमापार व्यावसायिक सहकार्य विस्तार गर्नु तथा नेपालको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउनु हो । सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक नेटवर्किङ, गन्तव्य प्रस्तुति, उद्योग प्रदर्शनी, ज्ञान आदानप्रदान तथा अवार्ड आयोजना हुनेछन् ।
साथै बलिउड कलाकार शिल्पा शेट्टी, शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनले होटल, रिसोर्ट, ट्राभल कम्पनी, इभेन्ट व्यवस्थापन, यातायात, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्नुका साथै नेपाललाई भविष्यमा अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट कार्यक्रम, प्रोत्साहन भ्रमण तथा गन्तव्य विवाहका लागि विश्व बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने नेपाल पर्यटन बोर्डका पूर्व पदाधिकारी नन्दिनी लाहे थापाले बताएकी छन् ।