काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्दै देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
संयोजक दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अवस्था आएको छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, त्यतिबेला यो हाम्रो लागि औपचारिक कार्यक्रम मात्रै होइन ।’
संयोजक दाहालले देशमा निरङ्कुश प्रवृत्ति देखापरेको र त्यसका विरुद्धमा एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।