काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै पुँजी बजारमा लाभांश सिजन पनि सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण बन्द भएसँगै सूचीकृत कम्पनी तथा म्युचुअल फण्डहरूले लाभांश तथा प्रतिफल घोषणा गर्न थालेका छन् । यससँगै लगानीकर्ताको चासो अब कुन कम्पनी वा योजनाले कति प्रतिफल वितरण गर्छ भन्नेमा केन्द्रित हुन थालेको छ ।
यसैक्रममा, आर्थिक वर्ष समाप्त भएको आठ दिनमै सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई करसहित ३ प्रतिशत नगद प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिफल वितरण प्रयोजनका लागि साउन ८ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्तामात्र प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजना खुलामुखी योजना भएकाले लाभांश पुनःलगानी योजनामा सहभागी भएका इकाईधनीको हकमा कर तथा निर्धारित डिपी शुल्क कटाएर बाँकी रकम बराबरको नयाँ इकाई समायोजित खुद सम्पत्ति मूल्यका आधारमा खरिद गरी सम्बन्धित हितग्राही खातामा जम्मा गरिनेछ ।
यस्तै, पुनःलगानी योजनामा सहभागी नभएका इकाईधनीको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेख भएको बैंक खातामै सिधै जम्मा गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।