बैंकले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने, ‘स्टेरलाईज्ड इन्टरभेन्सन’ के हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिदका कारण बैंकिङ प्रणालीमा सिर्जना हुने अत्यधिक तरलता (नेपाली रुपैयाँ) लाई व्यवस्थापन गर्न नयाँ नीतिगत प्रबन्ध गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाईज्ड इन्टरभेन्सन’ गर्ने घोषणा गरेको हो ।

मौद्रिक नीतिमा भनिएको छ, ‘विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाईज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिनेछ ।’

विप्रेषण आप्रवाह र पर्यटन आयका कारण विदेशी विनिमय सञ्चिति र प्रणालीमा तरलता थपिँदै जाँदा उत्पन्न हुने चुनौतीलाई सम्बोधन गर्न यो नीति ल्याइएको हो । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट विदेशी मुद्रा खरिद गर्दा बजारमा तत्कालै ठूलो मात्रामा नेपाली रुपैयाँ प्रवाह हुन्छ । यसरी प्रवाह हुने अतिरिक्त रुपैयाँले बजारमा महँगी बढाउने वा आर्थिक असन्तुलन ल्याउने जोखिम कम गर्न राष्ट्र बैंकले डलर खरिद गरेकै समयमा अन्य मौद्रिक उपकरण प्रयोग गरी बजारबाट पैसा फिर्ता तान्ने (स्टेरलाईज्ड इन्टरभेन्सन) रणनीति लिएको हो ।  

यसका साथै, विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाहको चापलाई देशभित्र सहज बनाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रहरूमा लगानी गर्न प्रोत्साहित गर्ने नीति समेत अघि सारेको छ । यस व्यवस्थाले बैंकहरूसँग भएको विदेशी मुद्रा देशभित्रै साटेर नेपाली रुपैयाँको थप चाप बढाउनुको सट्टा बाहिरै सुरक्षित उपकरणमा लगानी भई ब्याज आम्दानी हुने र स्वदेशी बजारमा तरलता सन्तुलनमा रहने अपेक्षा गरिएको छ ।

Share News