बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आयोजना गरेको कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार योजना र आईपीओसम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै इच्छुक संस्थागत लगानीकर्तालाई आशयपत्र (इन्डिकेटिभ बिड) सम्बन्धी विवरण उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार बुक बिल्डिङ प्रक्रियाअन्तर्गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से), निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको समन्वयमा आईपीओ प्रक्रिया अघि बढाइएको हो । समन्वय समितिको निर्णयअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिने कार्यक्रम तय गरिएको छ ।

टाइम फर्मास्युटिकल्सले ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्रीले करिब २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधि उत्पादनबाट सुरु भएको कम्पनी अहिले ६० करोड रुपैयाँ अधिकृत पुँजी, ३५० भन्दा बढी कर्मचारी तथा २०० भन्दा बढी औषधि उत्पादन गर्ने अवस्थासम्म पुगेको जानकारी दिए । नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल सुरु गरिएको र त्यसको प्रतिवेदन छिट्टै सार्वजनिक हुने पनि उनले बताए ।

कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको छ भने योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको जनाएको छ ।

Share News