एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका चार सामुदायिक विद्यालयलाई सूचना प्रविधिसम्बन्धी शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले डडेलधुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ ।

सहयोग प्राप्त गर्ने विद्यालयमा डडेलधुराको श्री भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन् ।

बैंकका अनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सूचना प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालयहरूको आवश्यकताअनुसार प्रोजेक्टर, प्रिन्टर, ल्यापटप तथा डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो । सामग्री सम्बन्धित शाखा प्रमुखहरूले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका थिए ।

बैंकले उपलब्ध गराएको सामग्रीबाट विद्यालयको पठनपाठन, प्रशासनिक कार्य तथा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share News