काठमाडौं । आजदेखि कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेको छ ।
सेवा सञ्चालनको पहिलो दिन नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तरर्गत कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सुरु गरेको हो ।
मन्त्रालयले देशभरका इच्छुक पालिकाहरूमा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण मन्त्रालयको योजना अनुसार कागेश्वरी मनोहरा नगरपालिकाबाट सेवा सन्चालनमा आएको हो ।
यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका थिए ।
स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवाका लागि मालपोत तथा नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
यसबाट समय, खर्च र झन्झट घट्ने तथा सेवाप्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ ।
मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिमको व्यवस्था गर्दै अन्य स्थानीय तहहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।