कैलालीमा टेम्पो भिरबाट खसालेको घटनामा १० वन कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईबाँधेमा एक महिलाले खुद्रा पसल सञ्चालन गर्दै आएको टेम्पोलाई भिरबाट खसालेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय, कैलालीले छ जना र इलाका प्रहरी कार्यालय, मालाखेतीले चार जना गरी कुल १० जना कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । 

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले चासो देखाउँदै भिरमा टेम्पो खसाल्ने कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरूको पहिचान सुरु गरेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पीडित महिला धनमाया धामीले वन कर्मचारीहरूसँग आफ्नो टेम्पो नफालिदिन रुँदै अनुनय-विनय गरिरहेको देखिन्छ । धामीका अनुसार उनले नगरपालिकालाई नियमित कर तिरेर सोही टेम्पोमा सामान बिक्री गर्दै आएकी थिइन् । 

आफूले धेरै दुःख गरेर कमाएको गाडीभित्रका सामान नफालिदिन र गाडी आफै घर लैजाने भन्दाभन्दै पनि वन कर्मचारीहरूले बलपूर्वक त्यसलाई भिरबाट फालिदिएको आरोप धामीले लगाएकी छन् ।

यता डिभिजन वन कार्यालय कैलालीले भने सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो सञ्चालनको अवस्थामा रहेको सवारी साधन नभएको दाबी गरेको छ । 

कार्यालयका अनुसार त्यसको चक्का र इन्जिन पहिले नै बिक्री भइसकेको र धकेलेर सार्नसमेत गाह्रो हुने फलामे अवशेष मात्र रहेको थियो, जसलाई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको थियो । 

चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्ने उक्त संवेदनशील भू-भागमा सडक किनारका सार्वजनिक वन क्षेत्र कब्जा गर्ने र भित्री रूपमा किनबेच गर्ने प्रवृत्ति बढेपछि अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको वन प्रशासनको भनाइ छ ।

वन कार्यालयले उक्त टेम्पो हटाउन एक महिनाअघि नै निर्देशन दिइएको र यसअघि वन कर्मचारी आफैले धकेलेर घरसम्म पुर्याइदिए पनि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको दाबी गरेको छ । 

गत जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दा वन टोलीले टेम्पोलाई पछाडितर्फ धकेल्ने क्रममा भिरालो भू–भागका कारण अनियन्त्रित भई आफै भिरबाट खसेको स्पष्टीकरण वन कार्यालयले दिएको छ । यही घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले नियन्त्रणमा लिएका कर्मचारीहरूसँग थप सोधपुछ गरिरहेको छ।

भीरबाट खसालेको टेम्पोको वास्तविकता के हो ?

Share News