काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेको छ ।
काठमाडौंमा आइतबार (आज) आयोजित एक समारोहका बीच प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीसहितका ३७ जना कार्यसमिति सदस्यहरूलाई शपथ खुवाउनुका साथै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
संस्थाको नयाँ नेतृत्वमा मोहनकुमार डाँगी अध्यक्ष र उत्तम भ्लोन लामा वरिष्ठ उपाध्यक्षका रूपमा चयन भएका छ्न् ।
त्यसैगरी, उपाध्यक्षहरूमा विक्रम विष्ट, हिमबहादुर पाठक, नरेन्द्रबहादुर पन्त, सुशन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् ।
कार्यसमितिको महासचिवमा टीएन आचार्य, उप-महासचिवमा कविता पोखरेल र कोषाध्यक्षमा शंकर बस्यालले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, विजयमान भट्टराई, कुबेरमणि नेपाल, सुमन जोशी, कृष्ण घिमिरे र दीपक पौडेल रहेका छन् ।
शपथ ग्रहणका क्रममा नवनिर्वाचित टोलीले ईश्वरको नाममा सत्य निष्ठापूर्वक शपथ लिँदै प्रचलित कानुनको अधीनमा रही संस्थाको विकास, सदस्यहरूको हित र ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि व्यावसायिक नैतिकता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले कुनै पनि पूर्वाग्रह वा पक्षपात नगरी आफ्नो ज्ञान, बुद्धि र विवेकले भ्याएसम्म इमानदारीपूर्वक काम गर्ने अठोट समेत गरेका छन् ।
इप्पानको विधान २०७८ को व्यवस्था बमोजिम सम्पन्न यस निर्वाचन र नयाँ कार्यसमितिको आगमनले नेपालको स्वतन्त्र ऊर्जा उत्पादन क्षेत्रमा रहेका चुनौतीहरूको समाधान र विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
समारोहमा निवर्तमान अध्यक्ष तथा मुख्य सल्लाहकार गणेश कार्की र प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो ।