काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिनाकल इनोभेसन अवार्डस् २०२६ अन्तर्गत म्याक्सिमाइजिङ कस्टुमर इंग्गेजमेन्ट– डिजिटल फर्स्ट बैंकिङ विधामा गोल्ड्स अवार्डबाट सम्मानित भएको छ ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी यो अवार्ड प्रदान गरिन्छ ।
अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको हो ।
बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरूको विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल के्रडिट कार्ड, डिजिटल खाता सञ्चालन लगायतका सेवामार्फत ग्राहकहरूलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई उक्त अवार्डले थप साहस र ऊर्जा प्रदान गरेको छ ।
सिद्धार्थ बैंकले आगामी दिनहरुमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने विश्वास लिएको छ ।