काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेका ६ जना कर्मचारीलाई कडा अल्टिमेटम दिएको छ । बैंकको मानव संसाधन विभागले १५ दिनभित्र बैंकको सम्पर्कमा आउन निर्देशन दिएको हो ।
बैंकका अनुसार बालाजु कार्यालयमा सहायक प्रबन्धक मन्सा खड्का, भोजपुर कार्यालयमा वरिष्ठ सहायक सुभाष काफ्ले, गैंडाकोटमा वरिष्ठ सहायक प्रिन्स भण्डारी, महाराजगन्जमा वरिष्ठ सहायक सन्जिव गौतम, भद्रपुरमा सहायक सुरज लाबुङ र इटहरीमा सहायक सुनिता डाँगी कार्यरत रहेका थिए ।
लामो समयदेखि बिना जानकारी अनुपस्थित रहेका ती कर्मचारीहरू बैंकको सम्पर्कमै नआएको भन्दै बैंकले कर्मचारी सेवा विनियमावली, २०७० बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । निर्धारित समयसीमाभित्र सम्पर्कमा नआएमा नियम अनुसार कारबाही हुने बैंकले स्पष्ट पारेको छ ।