बीआईएस लाइसेन्स प्रक्रियाको ढिलासुस्तीले नेपाली उद्योगलाई आर्थिक क्षति

काठमाडौं । भारतीय बजारमा नेपाली उत्पादन निर्यातका लागि अनिवार्य गरिएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) लाइसेन्सको नवीकरण तथा नयाँ लाइसेन्स जारी प्रक्रियामा भइरहेको ढिलासुस्तीप्रति मोरङ उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले भारतीय पक्षको व्यवहारका कारण नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।

संघका अनुसार भारतीय पक्षले नेपाली निर्यातकर्ताको बीआईएस लाइसेन्स नवीकरण नगर्नुका साथै नयाँ लाइसेन्स जारी प्रक्रियामा आनाकानी तथा ढिलासुस्ती गर्दा नेपाली उत्पादनको निर्यात अवरुद्ध भइरहेको छ ।

विशेषगरी विदेशी उत्पादन उत्पादक प्रमाणीकरण योजनाअन्तर्गत आवेदन, निरीक्षण, परीक्षण तथा स्वीकृतिका सम्पूर्ण चरणको समयसीमा स्पष्ट नहुँदा दुई देशबीचको द्विपक्षीय व्यापार प्रभावित भएको संघले जनाएको छ ।

यस विषयमा संघले उद्योग विभागका महानिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गरेको जनाएको छ । पत्रमार्फत भारतीय पक्षको गैर–भन्सार अवरोधले नेपालका निर्यातजन्य उद्योग तथा व्यवसायलाई प्रत्यक्ष आर्थिक क्षति पुर्याइरहेको उल्लेख गर्दै अवरोध तत्काल अन्त्य गराउन पहल गर्न माग गरिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले सरकारले तत्काल कूटनीतिक माध्यम प्रयोग गरी समस्या समाधान नगरे नेपाली उद्योगहरू धराशायी हुने अवस्था आउन सक्ने बताएका छन् ।

उनले भारतसँगको व्यापार घाटा कम गर्न निर्यात सहजीकरण नै प्रमुख उपाय भएकाले यस्ता प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने उल्लेख गरेका छन् । साथै, भविष्यमा यस्ता अवरोध दोहोरिन नदिन भारतसँग उच्च तथा नीतिगत तहमा ठोस वार्ता गरी स्थायी संयन्त्र निर्माण गर्नुपर्नेमा पनि संघले जोड दिएको छ ।  

Share News