काठमाडौं । सरकारले पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी र बैंकरहरूलाई धरपकड गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ ।
महासंघले बिहीबार (आज) एक विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कार्यले समग्र व्यवसायिक वातावरणमा त्रास सिर्जना गरेको र लगानीकर्ताको मनोबल गिराएको बताएको हो ।
महासंघले विशेषगरी बैंकका उच्च पदस्थ अधिकारीहरूको पक्राउले वित्तीय क्षेत्रमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।
जनविश्वासमा आधारित बैंकिङ क्षेत्रका कार्यकारी अधिकृतहरूलाई फौजदारी शैलीमा पक्राउ गर्दा बैंकको साखमा धक्का लाग्ने महासंघको ठहर छ ।
यस्ता कदमले बैंकहरूको निर्णय क्षमतामा ह्रास आउने, कर्जा प्रवाह रोकिने र अन्ततः देशको समग्र आर्थिक प्रणालीमै नकारात्मक असर पर्ने देखिएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारले प्रारम्भिक अनुसन्धान नै नगरी व्यवसायीलाई पक्राउ गर्ने र ुमिडिया ट्रायलु गर्ने गरेकोमा महासंघले दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानबिन र अभियोजन सोही अनुरूप हुनुपर्छ । अनुसन्धानलाई गोप्य राख्नुको साटो सार्वजनिक रूपमा मान(प्रतिष्ठामा आँच पुर्याउने काम बन्द गरियोस् ।’
महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको ‘सम्मानपूर्वक बाँच्न पाउने अधिकार’ र ‘कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने’ व्यवस्थाको स्मरण गराउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्रले हालै गठित करिब दुई(तिहाइको सरकारबाट गति पाउने अपेक्षा निजी क्षेत्रले राखे पनि पछिल्ला गतिविधिले लगानीकर्ताहरू असुरक्षित महसुस गर्ने अवस्था आएको महासंघको बुझाइ छ ।
महासंघले व्यवसायीहरूलाई फौजदारी कसुरदारको शैलीमा धरपकड गर्न बन्द गर्न, अनुसन्धानका प्रक्रियाहरूलाई मर्यादित र गोप्य राख्य, लगानी वृद्धि हुने र व्यवसायिक आत्मविश्वास बढ्ने वातावरण निर्माण गर्न सरकारले तत्काल ठोस कदम चाल्न अनुरोधसमेत गरेको छ ।