काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए ।
उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए ।
कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए ।
उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरू पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौं भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरू पनि सवारी धनीलाई जिम्मा लगाएका छौं । बाइकमा जीपीएस जडान गर्यौं, सही ठाउँमा पार्किङ गर्यौं भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’