यी हुन् मन्त्रिपरिषद् बैठकमा ४ निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण चार निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको निर्णयअनुसार संसद् अधिवेशनदेखि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदनसम्मका विषय समेटिएका छन् । 

मन्त्रिपरिषद्ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २९ गते सोमबार दिउँसो १ बजे सम्बोधन गर्ने व्यवस्था मिलाउन संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
 त्यस्तै, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अवैतनिक कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय पनि गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

यस्तै, श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि, १९४७ नम्बर ८१ (लेबर इन्स्पेक्सन कन्भेन्सन१९४७) अनुमोदनका लागि पनि संघीय संसद्मा पेश गर्न सरकारले स्वीकृति दिएको छ ।

Share News