काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सरकारले उपाध्यक्ष भट्टको संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका थिए ।
तर, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि गुणाकर भट्टले समितिबाट राजीनामा दिएका हुन् । गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ पर्छन् ।
दाइले नै आवेदन दिएपछि भट्टले नैतिकताको आधारमा राजीनामा दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
सेबोन अध्यक्ष पदका लागि कुल ४७ जनाले आवेदन दिएका छन् । सिफारिस समितिले आवेदनमध्येबाट तीन जनाको नाम छनोट गरी सरकारसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।
तर, भट्टले नै राजीनामा दिएपछि अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।