काठमाडौं । नेपाल आर्थिक संघ (एनईए) को ३६औं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि प्रा.डा.विश्वम्भर प्याकुर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साधारण सभाले संघको नीतिगत संवाद र अनुसन्धानका कार्यहरूलाई नयाँ ऊर्जासहित अगाडि बढाउने संकल्प गरेको छ ।
निर्वाचनपछि आयोजित सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष प्रा. डा. प्याकुर्यालले संघ स्थापना कालदेखिका चुनौतीहरूको स्मरण गरे । पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको उनले उल्लेख गरे ।
उनका अनुसार संघले विश्व बैंक, यूएनडीपी र नेपाल सरकार लगायतका निकायहरूसँग सहकार्य गर्दै आर्थिक नीति, अनुसन्धान तथा समसामयिक विकासका मुद्दाहरूमा निरन्तर छलफल अघि बढाइरहेको छ ।
उनले संघको आगामी योजनाका बारेमा प्रकाश पार्दै निकट भविष्यमै आफ्ना कार्यक्रमहरूलाई प्रदेशस्तरमा समेत विस्तार गरिने जानकारी दिए ।
उपाध्यक्ष पदमा डा. पोषराज पाण्डे र प्रा. डा. गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित भए । महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित भए ।
त्यसैगरी, सचिव पदमा डा. खोमराज खरेल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह चयन भइन् ।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्रा. डा. विजय श्रेष्ठ, प्रा. डा. केशवराज खड्का, प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. कुसुम शाक्य, प्रा. डा. माधवप्रसाद दाहाल, डा. विष्णुदेव पन्त, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय तथा जमुना श्रेष्ठ रहेका छन् ।
नेपालको आर्थिक नीति निर्माण, अनुसन्धान र समसामयिक विकासका बहसहरूमा अग्रणी भूमिका खेल्दै आएको नेपाल आर्थिक संघले नयाँ नेतृत्व पाएसँगै आफ्ना गतिविधिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।