घोराही सिमेन्टको नोक्सानी घट्यो, आम्दानी साढे ३ अर्ब रुपैयाँ

काठमाडौं । घोराही सिमेन्ट इण्डिष्ट्रिले नोक्सानी घटाएको छ । सिमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नोक्सानी घटाउँदै १५ करोड ८६ लाख ६८ हजार रुपैयाँमा झारेको हो । जबिक गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । 

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा कम्पनीले २ करोड ७५ लाख रुपैयाँ अन्य आम्दानी, ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा र ९२ करोड ६४ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ लाख रुपैयाँ अन्य आम्दानी, १ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा र ७१ करोड ४४ लाख रुपैयाँ कुल नाफा गरेको थियो । 

साथै चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कस्ट अफ सेल २ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ र प्रशासनिक तथा बिक्री वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ गरेको छ । 

५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ७९ करोड ३२ लाख रुपैयाँ र २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक रहेको छ । चैतसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १६८.६९ रुपैयाँ रहेको छ ।

सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढि उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीमा अपेक्षा लिए अनुसार वृद्धि नभएको तर गत अवधिको तुलनामा यो अवधिमा सुधार भएको देखिएको कम्पनीले जनाएको छ । निर्माणका लागि महत्वपूर्ण मानिने आगामी अवधि नै सुख्खायाम पनि भएकाले विद्युत कटौतीको सम्भावना बढ्दै गएकाले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीले जनाएको छ ।

विद्युत आपूर्तिमा समस्या आएमा निरन्तर उत्पादनमा अवरोध हुने र त्यसले समग्र उत्पादन क्षमतामा असर पर्ने कम्पनीको भनाइ छ । साथै, पूर्वी एसियामा जारी द्वन्द्वका कारण कोइला र डिजेलजस्ता इन्धनको मूल्य बढ्दो क्रममा रहेकाले सिमेन्ट उत्पादन लागत महँगो बन्दै गएको छ ।

यद्यपि, बैंक ब्याजदरमा केही कटौती भए पनि लागतमा पर्ने दबाब कायमै रहेको छ । हालसम्म नगद प्रवाहमा ठूलो असर पार्ने खालका तत्कालीन जोखिम नदेखिए पनि दीर्घकालीन रूपमा लागत वृद्धि उद्योगको नाफामा असर पार्न सक्ने देखिन्छ । सिमेन्ट उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुंगा उत्खनन अनुमति प्रक्रियामा ढिलाइ हुनु अर्को समस्या रहेको, खपतको तुलनामा उत्पादन बढी हुँदा आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार समग्रमा, ऊर्जा आपूर्ति, इन्धन मूल्य, कच्चा पदार्थ व्यवस्थापन र बजार मागबीचको असन्तुलनले सिमेन्ट उद्योगलाई दबाबमा राखेको छ । 

Share News