काठमाडौं । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणको लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु ५ वटा छोटी भन्सार बन्द अवस्थामा छ ।
मेची भन्सार कार्यालय अन्तर्गत गौरीगन्ज-२ मा आठमौजा छोटी भन्सार, मेचीनगर-२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर-४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर-५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर-७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज-१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।
हाल गौरीगन्ज-२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले बताए । ‘आठमौजा छोटी भन्सार चाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुन सकेको छैन । अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन्,’ उनले भने ।
आयात र निर्यात कारोबार हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन लगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन । पूर्वी प्रवेशद्वार काँकडभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् ।
मेचीनगर-४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत ८ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । ‘के-कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौँ,’ छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्कीले भने, ‘वि.सं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमा बजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।’
राणाकाल र पञ्चायतकालमा समेत सीमा नाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उनले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताए । उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत रहेको छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ ।
८ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकडभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ । नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापार भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमा नाकामा सुरक्षा दिँदै आएको छ ।