काठमाडौं । काठमाडौं स्वच्छ अभियान अन्तर्गत प्रहरीले विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं र ललितपुरको मसाज र स्पा सेन्टरमा छापा मारेका हुन् । प्रहरीले ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो ।
कार्यालयका प्रमुख सन्तोष खड्काले स्पामा विदेशीलाई ठगी गर्ने र कम उमेर समूहका काममा लगाएको गुनासो आएपछि सक्रियता बढाएको बताए ।
मसाज तथा स्पामा अनैतिक कार्य गर्न लगाएको गुनासो आएपछि काठमाडौं स्वच्छ अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले काठमाडौंको ठमेल, बौद्ध तथा ललितपुरको सानेपा र भैसेपाटीमा छापा मारेर पक्राउ गरेको हो ।
मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।