काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको ९ महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, ५ अर्ब ८७ करोड १८ लाख रुपैयाँ बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, १ अर्ब ९० करोड ५९ लाख रुपैयाँ बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ बराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ बराबरको ३४ हजार ५२४।.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए ।