काठमाडौं । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आज (शनिबार) प्रतिवेदन बुझाउँदैछ । बिहीबार थवाङ गाउँपालिका-१, सल्यापमा २० जनाको ज्यान जाने गरी भएको सो दुर्घटनापछि सरकारले गठन गरेको समितिको ३ दिने समयावधि शनिबार समाप्त हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै समितिको निष्कर्ष र सुझाव प्राप्त हुनासाथ तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य अघि बढाइएको थियो ।
घटनाको सूक्ष्म छानबिनका लागि गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रधानमन्त्री कार्यालयले सडक दुर्घटनालाई नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै देशभरकै सडक सुरक्षा प्रणालीमा नीतिगत र संरचनागत सुधार गर्ने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सडक दुर्घटनामा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ । समितिको प्रतिवेदनका आधारमा आवश्यक कदम चालिनेछ । ’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो दुःखद घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।