काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन यो साता भने ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो । साथै सोमबार थप १ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ पुगेको थियो ।
यसैगरी, मंगलबार सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट आयो भने बुधबार र बिहीबार पनि यो क्रम जारी रह्यो । बुधबार ३ हजार रुपैयाँ र बिहीबार १ हजार ८ सय रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको थियो ।
शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि मंगलबारदेखि बिहीबारसम्म निरन्तर ओरालो लाग्दै प्रतितोला ४ हजार ८१० रुपैयाँसम्म पुगेको थियो, जुन अघिल्ला दिनहरूको तुलनामा निकै कम हो ।
साताको अन्तिम दिन शुक्रबार भने सुनचाँदीको मूल्यमा पुनः सुधार देखिएको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँ कायम भयो भने चाँदी पनि १३५ रुपैयाँले महँगिएर ४ हजार ९४५ रुपैयाँमा कारोबार भयो ।