जोखिम मोल्दै मह सिकार सुरु, लिटरकै ३५ सय रुपैयाँमा बिक्री

काठमाडौं । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघु गङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरि गाउँपालिका-२ खोरीयाका मह सिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि मह सिकार थालिएको जानकारी दिए ।

खोरिया नजिकैको महभीरमा रहेका दुई घारमा शुक्रबार मह सिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि मह सिकारलाई निरन्तरता दिने उनले बताए । १५ जनाको टोलीले महभीरबाट करिब ७० लिटर मह निकालेको छ ।

बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका मह सिकारी लोकबहादुर पाईजाले बताए । मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुन्डिएर मह निकाल्ने गर्दछन् ।

भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीर मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्न उपयुक्त समय हो । प्रतिलिटर ३ हजार देखि ३ हजार ५०० रुपैयाँका दरले भिर मह बिक्री हुने गर्छ ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।

मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्ति वर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ । 

Share News