पोखराको ३१ पार्क होटलमा पूर्व राजपरिवार, 'छु मी' रेस्टुरेन्टमा लिए चिनियाँ परिकारको स्वाद

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले परिवारसहित पोखराको बाराहीघाटस्थित ३१ पार्क होटलमा रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ मा शुक्रबार भोजन गरेका छन् ।

होटल स्रोतका अनुसार निजी भ्रमणका क्रममा पोखरामा रहेका पूर्व राजपरिवार चिनियाँ परिकारको स्वाद लिन सो रेस्टुरेन्ट पुगेका हुन्  । 

उनको आगमनले होटलमा एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको व्यवस्थापनले जनाएको छ । 

‘शुक्रबार अपराह्न हाम्रा लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजपरिवारलाई आत्मीय भोजनको अनुभव प्रदान गर्ने अवसर पायौं,’ होटल स्रोतले भन्यो ।

भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा र शान्त वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका छन् । उनले पोखराको आतिथ्य संस्कृति र सेवाको स्तरले नेपालको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बताएका छन् ।

अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ गुणस्तरीय चिनियाँ खानाका लागि पोखरामै परिचित मानिन्छ ।

स्थानीय पर्यटन व्यवसायीहरूले यस्ता उच्चस्तरीय र विशिष्ट व्यक्तित्वहरूको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । 

निजी र अनौपचारिक भ्रमण भए तापनि पूर्व राजपरिवारको उपस्थितिले पोखराको पर्यटकीय छवि अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Share News