जसको घरसँगै सपना गुम्यो

काठमाडौं । आँखाभरि आँसु टिलपिलिएको छ । काँधमा सानो एउटा झोला झुण्डिएको छ । आफ्नो जीवनकै पहिलो संसार घर भत्किँदै गरेको दृश्यतिर टोलाएर हेरिरहेकी छिन् जिना राई । त्यो घर, जहाँ उनले हाँस्न सिकिन्, दौडिन सिकिन्, साथी बनाउन सिकिन् । आज सरकारको डोजरले माटोमा मिसाइरहेको छ ।

छेउमै उनका बुवाआमा कवाडीवालासँग घरका बाँकी सामान बेच्ने कुरा गर्दैछन् । जिना भने केही पर उभिएर भत्किएको घरभित्रका टुक्रा–टुक्रा सम्झनाहरू खोजिरहेकी छिन् । सायद उनको मनपर्ने किताब, कुनै पुरानो खेलौना, वा उनीसँग मात्र जोडिएको कुनै सानो रहस्य- सबै माटोमुनि पुरिएका छन् । 

उनको अनुहारमा मौनता छ । तर, त्यो मौनताले धेरै कुरा बोलिरहेको छ । उनी कक्षा दुई सकेर तीनमा जाँदैछिन् । यो टोलमा उनका साथीहरू थिए, सँगै स्कुल जाने, सँगै खेल्ने, सँगै हाँस्ने । तर, आजदेखि त्यो संसार चिराचिरा भएको छ । अब उनीहरू एउटै ठाउँमा कहिल्यै भेटिने छैनन् । 

nullजिना राई

बिहानको ठीक १० बजेर २१ मिनेट । समय मात्र होइन, जिनाको जीवन पनि त्यही क्षणमा रोकिन पुगेको जस्तो लाग्छ । डोजर आयो र केबल घर होइन, उनका बाल्यकालका सपना र सम्झनाहरु पनि भत्काएर गयो । उनलाई थाहा छैन, अब उनी कहाँ जान्छिन् । नयाँ ठाउँ, नयाँ स्कुल, नयाँ साथी– यी सबै अनिश्चितताका भारी प्रश्नहरू उनका साना काँधमा थुप्रिएका छन् । 

रातभरि बुवाआमाले सामान प्याक गरिरहे । उनी सुत्न सकिनन् । दिदीले सम्झाइन्, ‘हामी अब अन्त कतै जानुपर्छ ।’ तर ‘अन्त कतै’ भन्ने ठाउँ कस्तो हुन्छ भन्ने उनलाई थाहा छैन । त्यसैले उनी अझै पनि आफ्ना स–साना सामान खोजिरहेकी छिन् । शायद, उनी त्ी सामानमा आफूलाई र आफ्नो बाल्यकाल खोजिरहेकी छिन् । 

जिना त एउटा पात्र मात्र हुन् । त्यहीँ, बल्खुको सुकुम्बासी बस्तीमा हजारौं जिनाहरू छन् । जसका आँखामा आँसु छ, मनमा डर छ, र भविष्य अन्योलमा छ । बस्तीभरि रुवाबासी छ । केही बेरअघि देखिएको घर, केही बेरपछि बिलाउँछ । जस्तो लाग्छ, डोजरले घर मात्र होइन, अबोध बालबालिकाको छाती नै चिरिरहेको छ ।

nullविकल तामाङ

त्यही भीडमा अर्का पात्र छन् विकल तामाङ । उनको घर भत्किँदा उनी नजिकै उभिन पनि पाएनन् । नेपाल प्रहरीले बन्दुक देखाएर टाढा हटायो । उनी केही पर उभिएर आफ्नै जीवन भत्किँदै गरेको हेर्दै रहे । जब डोजरले घरलाई पूर्ण रूपमा ढाल्यो, उनी त्यहीँ आएर भक्कानिए ।

‘कपडा र भाँडाकुँडा त उठाएँ,’ उनी भन्छन्, ‘तर कोठा नपाएको कारण धेरै सामान निकाल्नै पाइएन ।’

बल्खु उनको जन्मथलो हो । यहीँ हुर्किए, यहीँ सपना देखे । बुवाआमाले २१ वर्षको मिहिनेतले बनाएको घर आज माटोमा बिलीन भयो । उनकी आमा अब यस संसारमा छैनन्, र बुबा हेटौंडामा छन् । तर, बाबुको पसिनाले बनेको घर उनकै आँखा अगाडि ढल्यो ।

‘मेरो घर मात्र भत्केको छैन, मेरा सपना पनि यहीँ माटोमा गाडिएका छन् । सोचेको थिएँ, विदेश गएर पैसा कमाउँछु, घर राम्रो बनाउँछु, बिहे गरेर सबै टोललाई भोज खुवाउँछु । तर...’ उनी भक्कान्निछन् । 

‘मेरो घर मात्र होइन, मेरो सबैथोक भत्कियो । हामीलाई कहाँ लैजाने हो, त्यो भनिदिएको भए पनि सजिलो हुन्थ्यो,’ उनी भन्छन् ।

त्यसपछि उनी प्रश्न गर्छन् ‘एक नागरिकको, एक पीडितको, एक आवाजविहीन मान्छेको प्रश्न, ‘यो जमीन सरकारको हो भने हामी जनता कसका हौं ? के हामी यस देशका नागरिक होइनौं ? के हामीलाई बस्ने अधिकार छैन ? किन गरिबमाथि यति धेरै अन्याय ?’

nullराम लिम्बु

राम लिम्बु पनि २१ वर्षदेखि यहीँ बस्दै आएका छन् । पाँच जनाको परिवार, सबै बच्चाहरू यहीँ जन्मिएका । अब उनीहरू कहाँ जान्छन् थाहा छैन । 

बल्खुको धूलोमा अहिले केवल इँटा र ढुंगा मात्र छैनन् त्यहाँ सपना छन्, सम्झनाहरू छन्, र हजारौं अधुरा भविष्यहरू हराएका छन् । 

Share News