अर्थमन्त्रालयले कर्मचारीलाई भन्यो : सरकारप्रति वफादार बन्नू, कार्यालय बाहिर सेवाग्राही नभेट्नू

उपहार लिन नपाइने, कार्यालयमा सामाजिक सञ्जाल चलाउन रोक

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीहरूका लागि नयाँ आचारसंहिता जारी गर्दै सरकारी सेवालाई थप जिम्मेवार, मर्यादित र अनुशासित बनाउन कडा निर्देशन दिएको छ । मन्त्रालयले ‘अर्थ मन्त्रालय कर्मचारी आचारसंहिता, २०८३’ कार्यान्वयनमा ल्याउँदै कर्मचारीहरूलाई सरकारका नीति र कार्यक्रमप्रति पूर्ण बफादार रहन तथा सामाजिक सञ्जालको प्रयोगमा उच्च सतर्कता अपनाउन सचेत गराएको हो ।

नयाँ आचारसंहिता अनुसार कर्मचारीहरूले आफ्नो पदीय दायित्व निर्वाह गर्दा पूर्ण रूपमा राजनैतिक तटस्थता कायम गर्नुपर्नेछ । कुनै पनि राजनीतिक दल वा नेताको पक्ष वा विपक्षमा विचार व्यक्त गर्न, राजनैतिक कार्यक्रममा सहभागी हुन र व्यक्तिगत स्वार्थका लागि राजनैतिक प्रभाव वा दबाब सिर्जना गर्ने जस्ता कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ । 

कर्मचारीको आचरण र व्यवहार निजामती सेवाको मूल सिद्धान्तबाट निर्देशित हुनुपर्ने र उनीहरूले राष्ट्र र जनताको बृहत्तर हितलाई सधैं सर्वोपरि राख्नुपर्ने व्यवस्था गरिएको छ । विशेष गरी प्रविधि र सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा मन्त्रालयले थप कडाइ गरेको छ । कर्मचारीले पदीय हैसियतले प्राप्त गरेका सूचनाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न नपाउने, सरकारी निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक प्रचार गर्न नहुने र अन्य पदाधिकारीको मान–मर्यादामा आँच पुग्ने गरी व्यङ्ग्य वा टिका-टिप्पणी गर्न नहुने नियम बनाइएको छ । 

कार्यालय समयभित्र व्यक्तिगत प्रयोजनका लागि मोबाइल वा कम्प्युटरमार्फत सामाजिक सञ्जाल चलाउन रोक लगाउँदै सरकारी कामका लागि अनिवार्य रूपमा सरकारी इमेल मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।  यसका साथै, कर्मचारीले सेवाग्राहीसँग कार्यस्थल बाहिर भेटघाट गर्न नहुने, कुनै पनि प्रकारको उपहार वा आतिथ्यता स्वीकार गर्न नहुने र सदाचारी एवं इमान्दार भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख छ । 

यो आचारसंहिता पालना भए-नभएको बारे मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबाट नियमित अनुगमन हुने उल्लेख छ । 
 

Share News