काठमाडौं । मोरङ उद्योग व्यापार संघले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको टोलीलाई स्वागत गर्दै निजी क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको छ ।
मंगलबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष माननीय लिमा अधिकारी (आचार्य) सहित सांसदहरू लाल विक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी र आशा झा लगायतको टोलीलाई स्वागत गरिएको हो ।
कार्यक्रमको सभापतित्व गर्दै संघका अध्यक्ष अनुपम राठीले नयाँ सरकार र युवा नेतृत्वप्रति निजी क्षेत्रको ठूलो आशा रहेको बताए । उनले देशको आर्थिक विकास, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रका आवाजलाई नीति निर्माणको तहसम्म पु¥याउन सांसदहरूलाई आग्रह गरे ।
छलफलका क्रममा अध्यक्ष राठीले सांसदहरूमार्फत सरकारलाई खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य कम्तिमा ४८ वटा वस्तुको भन्सार दर न्यून गरी स्वदेशी बजारलाई प्रोत्साहन गर्नुपर्ने, बहुदरको मूल्य अभिवृद्धि कर प्रणाली अवलम्बन गर्नुपर्ने, आर्थिक र फौजदारी कसुरलाई छुट्याई ’पहिले सुन्ने र पछि थुन्ने’ नीति अघि सार्नुपर्ने तथा विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल, पर्यटन र खेलकुदका पूर्वाधार निर्माणका साथै छुट्टै औद्योगिक कोरिडोरको व्यवस्था हुनुपर्ने सुझावहरू प्रस्तुत गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्षहरू पवन कुमार सारडा र खेमचन्द जैन, तथा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले पनि आफ्ना धारणा राखे । उनीहरूले जलविद्युत् उत्पादनमा जोड, भ्रष्टाचारमुक्त प्रशासन र आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा निजी क्षेत्रका सुझावहरू समावेश गराउन पहल गर्न सांसदहरूलाई अनुरोध गरे ।
कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधि, महिला तथा युवा उद्यमी र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सांसदहरूले निजी क्षेत्रका यी जायज मागहरूलाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।