लगानी बोर्डप्रति अर्थमन्त्रीको कडा टिप्पणीः मान्छे फेर्ने कि कानुन ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट स्वीकृत अधिकांश आयोजना अघि बढ्न नसकेको भन्दै कडा असन्तुष्टि जनाएका छन् । स्वीकृत ५५ आयोजनामध्ये दुईवटा मात्रै निर्माण चरणमा पुग्नु ‘लाजमर्दो अवस्था’ भएको उल्लेख गर्दै उनले समस्या समाधान नभए मान्छे वा कानुन नै परिवर्तन गर्नुपर्ने चेतावनी दिएका छन् । 

मंगलबार लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकमा बोल्दै उनले विदेशी लगानी स्वीकृत भएर पनि लामो समयसम्म काम अघि नबढ्नु गम्भीर विषय भएको बताए । 

उनले स्वीकृत ५५ आयोजनामध्ये दुईवटा मात्रै निर्माणमा जानु अत्यन्त निराशाजनक भएको उल्लेख गर्दै यस्तो अवस्थाको निर्मम समीक्षा आवश्यक रहेको बताए । ‘विदेशी लगानी स्वीकृत भएर पनि काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे, कानुन भए कानुन फेर्नै पर्ने अवस्था आयो,’ उनले भने । 

अर्थमन्त्री वाग्लेले समस्याको स्पष्ट पहिचान तुरुन्तै गर्न निर्देशन दिँदै आगामी १४औं बैठकसम्म ठोस प्रगति नदेखिए कडा निर्णय लिन बाध्य हुने चेतावनी दिए । उनले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिए । 

उनले लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय नै निरीह देखिनु गलत सन्देश प्रवाह भएको उल्लेख गर्दै केही ‘फेन्सी’ आयोजनाबारे पुनर्विचार गर्नुपर्ने पनि बताए । 

बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि देशको भविष्यसँग जोडिएका विकास आयोजनाको अवस्था दयनीय रहेको टिप्पणी गरे ।

उनले परियोजना अघि बढ्न बाधा पु¥याउने कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिए। 'कुन निकाय, कुन व्यक्ति र के कारणले समन्वय हुन सकेन, अब त्यसको कडाइका साथ मनिटरिङ हुन्छ,’ उनले भने ।

त्यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य, अधिकार तथा स्वीकृत आयोजनाहरूको अवस्थाबारे बैठकमा जानकारी गराएका थिए । उनले अघिल्लो १२औं बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि स्पष्ट पारेका थिए ।

Share News