सडक पुल बनेपछि एक सय बढी झोलुङ्गे पुल प्रयोग विहीन

काठमाडौं । बागलुङको काठे खोला गाउँपालिका-२ भीमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा ७ वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए । तर, बर्खामा खोला ठूलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा ३ करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चे गरेर मोटर चल्ने पुल निर्माण गरेपछि सँगैको झोलुङ्गे पुल प्रयोग विहीन बनेको छ । 

डुडियाघाटमा जस्तै जिल्लाभर एक सय बढी झोलुङ्गे पुल प्रयोग विहीन बनेका छन् । सडक सञ्जाल विस्तारका कारण गोरेटो बाटो प्रयोग हुन छाड्दा र पक्की पुल बनेपछि ती झोलुङ्गे पुल प्रयोगमा आउन छाडेका हुन् ।  

प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठे खोलामा मात्रै हालै तीनवटा पक्की पुल बनाइसकेको छ । गाउँपालिका-६ बिँहु र वडा नं २ भीमपोखरा जोड्ने गरी लामाबगरमा तीन वर्षअघि निर्माण भएको ३ करोड ३१ लाख रुपैयाँ लागत पक्की पुल बनेपछि सँगैको झोलुङ्गे पुल प्रयोगमा आउन छाडिसकेको छ ।

काठे खोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगमा आउन छाडेको बताए ।

‘काठे खोला गाउँपालिकामा मात्र पछिल्लो तीन वर्षमा तीनवटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेका झोलुङ्गे प्रयोगमा आउन छाड्यो,’ थापाले भने, ‘पक्की पुल नबन्दासम्म त यात्री झोलुङ्गे पुलबाट र सवारीसाधन खोलाबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने सम्भावित क्षेत्रमा झोलुङ्गे पुल स्थानान्तरण गर्न योजना बनाएको छ ।’

सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोक मार्गको बागलुङ खण्डका दर्जन बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन् । गलकोट नगरपालिका-११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दी खोलामा पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट मानिस वारपार गर्ने छाडे । त्यसपछि सो पुलको लठ्ठामा खिया लागेको छ । 

स्थानीय नवीन रानाका अनुसार जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन पक्की पुलका कारण १० वटा झोलुङ्गे पुल विस्थापित भएका छन् । जिल्लामा ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको छ । 

Share News