जुम्लामा इ–पेन्सन सेवा सुरु, काठमाडौं जाने बाध्यता हट्यो

काठमाडौं । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ-पेन्सन सुरु गरिएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए । 

सो सेवा अन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिएका छन् । कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताए । 

इ-पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौं जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ । 

Share News