फेरि सार्वजनिक यातायातको भाडा बढ्ने, छलफलमा सरकार

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा पुनः वृद्धि गर्ने गृहकार्य सुरु गरेको छ । वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन भएको दुई साता नबित्दै यातायात व्यवस्था विभागले भाडा बढाउने प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विभागबाट प्राप्त प्रस्तावमाथि अहिले मन्त्रालयमा छलफल भइरहेको छ र सम्भवतः आगामी केही दिनभित्रै नयाँ भाडादर कायम हुनेछ ।

फेरि सवारीसाधनको भाडा बढाउने तयारी रहेको ती अधिकारीले विकासन्युजसँग बताए । 

यसअघि सरकारले गत चैत २५ गते मात्रै वैज्ञानिक प्रणालीका आधारमा २२ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । सो समयमा यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको १५.७५ प्रतिशतले भाडा बढाइएको थियो । 

तर, पछिल्लो समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँसम्म भारी वृद्धि भएपछि विभागले पुनः भाडा बढाउन प्रक्रिया अगाडि बढाएको हो । चैतमा भाडा समायोजन हुँदा डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ रहेकोमा हाल त्यो बढेर २३७ रुपैयाँ पुगेको छ । 

वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिअनुसार भाडा निर्धारण गर्दा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र अन्य १३ वटा सूचक (बीमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्ट आदि) को ६५ प्रतिशत योगदान रहने गर्दछ । 

कार्यविधिमा इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी उतारचढाव आउँदा स्वचालित रूपमा भाडादर परिवर्तन गर्ने व्यवस्था छ । गत चैत २५ गतेको तुलनामा हाल डिजेलको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि भइसकेकाले सरकार पुनः भाडा बढाउने निष्कर्षमा पुगेको हो । 

Share News